काठमाडौंबाट छोटो दूरीका पदयात्रा गन्तव्यहरू

(कोभिड १९ पछिको भ्रमण)

कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारको प्रयास जारी छ । नागरिकहरुले पनि आफू सुरक्षित रहने प्रयास गरिरहेका छन् । ६ महिनादेखि घरभित्र खुम्चिएर बस्न बाध्य सर्बसाधारण मानसिक रुपमा तनाव र समस्या भोगिरहेका छन् । जागिरको सिलसिलामा होस् या व्यक्तीगत शोखका लागि बर्षैभरी विभिन्न ठाउँ चहारी हिड्नेहरु पनि कोभिड १९ महामारीका कारण घोषित लकडाउन÷निशेधाज्ञाको झण्डै ६ महिना घरभित्रै थुनिएका छन् । अवस्था सामान्य बनेपछि भ्रमणको यो सिलसिला फेरि सुरु हुने अपेक्षा छ । यसले कोभिड १९ महामारीले खुम्चिएको नेपाली पर्यटन क्षेत्र फेरि सञ्चालनमा आउने विश्वास गरिएको छ । यो संकटपछिको गन्तब्य कस्तो होला ? हामीले काठमाडौं वरिपरीका छोटो दूरीका केही सुन्दर गन्तव्यहरु प्रस्तुत गरेका छौं ।

१, काठमाडौं–बोल्दे–तीमाल–काठमाडौं
(दुई रात, तीन दिन)
काठमाडौंबाट नजिकको टे«क हो काठमाडौं–बोल्दे–तीमाल र काठमाडौंको । काठमाडौंबाट काभ्रेको बोल्देसम्म गाडीमा पुग्न सकिन्छ । काठमाडौंबाट सार्वजनिक यातायातमै चार घण्टामा बोल्दे पुग्न सकिन्छ । बोल्दे पनि तामाङ बस्ती हो । पहिलो दिन बोल्देमै बस्ने । भोलिपल्ट बोल्देबाट हाइकिङ सुरु हुन्छ तिमालसम्म । बोल्देदेखि उकालोबाटो ५ देखि ६ घण्टा हिडेपछि तिमाल पुगिन्छ । तिमालमा गुरु रिम्पोन्चेको गुफा छ । स्वयम्भू, बौद्ध, नमोबुद्धको छ्योर्तेन छ । तामाङ राजाको दरबार पनि हेर्न पाइन्छ । तिमालबाट नगरकोटबाट देखिने सबै हिमालहरु देख्न सकिन्छ । तेस्रो दिन तीमालबाटै काठमाडौं फर्कन सकिन्छ ।

‘यो रुट नेपालको सांस्कृतिक बिविधता अवलोकन गर्ने ठाउँ पनि हो’, तिमाल काभ्रेका स्थानीय पर्यटन व्यवसायी लप्साङ लामा भन्छन्, ‘यहाँ तपाइले बौद्ध, स्वयम्भू, नमोबुद्धको छ्योर्तेनदेखि गुरु रिम्पोन्चेको गुफा र सालिक हेर्न पाउनुहुने छ । तिमाल डाडाबाट मनासलु, अन्नपूर्णदेखि धेरै हिमाल र हिमालयनहरुको मनोरम दृश्य अवलोकन गर्न सक्नुहुने छ ।’

२, काठमाडौं–नमोबुद्ध–बन्थली–पनौती–काठमाडौं
(एक रात, दुई दिन)
यो काठमाडौं उपत्यकाबाट नजिक र छोटो अवधिको अर्काे ‘ट्रेक’ हो । पहिलो दिनको यात्रा काठमाडौंबाट सुरु हुन्छ । काठमाडौंबाट नमोबुद्धसम्म गाडीमा पुग्ने । यो यात्रा लगभक तीन घण्टाको हुनेछ । त्यहा विहानको खाना खाएपछि बन्थलीतर्फको ‘ट्रेक’ सुरु हुन्छ । नमोबुद्धबाट तीन घण्टामा बन्थली पुगिन्छ । पहिलो दिनको बास बन्थलीमै हुने छ । बन्थलीमा होम स्टेको सुविधा पनि छ । त्यसपछि भोलीपल्टको यात्रा पनौतीतर्फ फर्कने छ । बन्थलीदेखि पनौतीसम्मको दूरी सात किलोमिटरको छ । पनौनी नेवारी बस्ती हो । पनौतीमा नेवारी संस्कृतीको अवलोकनसँगै खानाको पनि मज्जा लिन सकिन्छ । पनौतीमा विहानको खाना खाएर दोस्रो दिननै काठमाडौं फर्कन सकिन्छ ।

यो रुटमा नमोबुद्ध र बन्थलीबाट विभिन्न हिमाल र हिम शृंखलाहरुको अवलोकन गर्न पाइने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) की महासचिव सरिता लामा बताउन्छिन् । ‘नमोबुद्ध बुद्ध धर्म मान्नेहरुका लागि धार्मिक यात्रा पनि हुने छ । त्यसका साथै नमोबुद्धबाट गौरीशंकर लगायत हिमालको दृश्यावलोकन गर्न पाइन्छ । बन्थलीबाट पनि अरु सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ’, उनी भन्छिन्, ‘काठमाडौंबाट केही लामो दूरीमा हाइकिङ जान चाहनेहरुका लागि यो राम्रो गन्तब्य हो ।’

३, काठमाडौं–चित्लाङ–काठमाडौं
(एक रात, दुई दिन)
यो ‘ट्रेक’ काठमाडौंबाट एक रातका लागि निस्कन चाहनेहरुका लागि उपयुक्त गन्तव्य हो । यसको यात्रा थानकोटबाट सुरु हुन्छ । थानकोटबाट चन्द्रगिरी डाडाको मुनिको बाटो हुँदै चित्लाङ पुगिन्छ । साढे दुई घण्टाको यो यात्रामा वरिपरीका अरु साना गाउँहरुको पनि अवलोकन गर्न पाइन्छ । नेवार समुदायको पुरानो गाउँ चित्लाङमा नेवारी खानाको स्वादसँगै सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । चित्लाङमा मल्लकालिन पुरातात्वीक बस्तुहरुको अवलोकन गर्ने अवसर समेत मिल्ने छ । पहिलो दिनको बास चित्लाङ नै हुनेछ । भोलीपल्ट विहान फेरि दुई साढे दुई घण्टाको पैदल यात्रापछि कुलेखानी आइपुगिन्छ । त्यहाँबाट अझै अगाडि मुट्खुमा बिहानको खाना खाएर काठमाडौं फर्कन सकिन्छ ।

यो रुट गाउँ पर्यटन प्रवद्र्धन मन्च (भिटोफ) ले होम स्टे र गाउँ पर्यटनमा जोड दिएको ठाउँ हो । यहाँ होम स्टेमा बसेर गाउँको जनवीवन र स्थानीय खानको स्वाद लिन पाइने छ । ‘भिटोफले पछिल्लो पाँचसात वर्षदेखि यहाँ होम स्टे र गाउँ पर्यटनको प्रवद्र्धनको काम गरिरहेको छ । यहाँ खाने बस्नेको राम्रो व्यवस्था छ’, भिटोफका अध्यक्ष ध्रुव सिम्खडा भन्छन्, ‘यहाँ तपाइहरुले स्थानीय संस्कृती र पुरानो भभ्यका केही चिनोसहित अरु धेरै नयाँ कुराको अनुभव र अवलोकन गर्न पाउनुहुने छ ।’

४, काठमाडौं–स्याब्रू बेसी–गत्लाङ–सुन्दाङ–तिप्लिङ–चालिस गाउँ–धादिङ बेशी–काठमाडौं
(एक साता)


काठमाडौंबाट धादिङको सुदूर रुवीभ्याली गाउँपालिकासम्म पुगेर फर्कने यो रुट केही लामो ‘ट्रेक’ चाहनेहरुका लागि उपयुक्त छ । यो ‘ट्रेक’ एक सातामा पूरा हुन्छ । पहिलो दिन काठमाडौंबाट निजी वा सार्वजनिक यातायातमा रसुवाको स्याब्रु बेशीसम्म पुग्ने । पहिलो दिनको बास स्वाब्रु बेशीमै हुनेछ । गाडीमा यात्रा आठ घण्टाको हुनेछ ।

त्यसको भोलीपल्टबाट ट्रेकिङ सुरु हुन्छ । स्याब्रु बेशीबाट हिडेर पाँच घण्टामा रसुवाकै अर्काे गाउँ गत्लाङ पुगिन्छ । दोस्रो रातको बास त्यही हुन्छ । गत्लाङ तामाङ समुदायको मात्रै बसोबास भएको गाउँ हो । त्यहाँ तामाङ समुदायको संस्कृती र खान पानको अनुभव गर्न पाइन्छ । तेस्रो दिन गत्लाङबाट सोम्दाङ पुगिन्छ । सोम्दाङ रसुवा र धादिङको सिमाना हो । सोम्दाङ पाल्दोर पिकको बेस क्याम्प जाने बाटो पनि हो ।

चौथो दिन पाङसाङ पास हुँदै तिप्लिङ पुग्छौं । मौसम सफा भएको समय त्यहाँबाट २७० डिग्रीको भ्यू देखिन्छ । त्यसको अर्काे दिन चासिल गाउँ पुगिन्छ । तिप्लिङबाट सेर्तुङ गाउँ हुँदै चालिस आइपुग्न चार घण्टा लाग्छ । चालिस गुरुङ गाउँ हो । त्यहा सोरठी, घाटु, मारुनी लगायत गुरुङ समुदायमा प्रचलित नृत्य हेर्न पाइन्छ । अर्काे दिन चालिसबाट बोराङ, झार्लाङ, हुँदै डुन्डुरे खोलासम्म हिडेर पुगिन्छ । त्यो दिन त्यहाबाट लोकल जीपमार्फत धादिङबेसी फर्केर बास बस्ने । यात्राको सातौं दिन तीनदेखि चार घण्टाको सवारी यात्रापछि काठमाडौं फर्किन सकिन्छ ।

‘यो कल्चरल ट्रेल हो । यो ट्रेलमा धेरै सास्कृतिक कुराहरुको अवलोकन गर्न सकिन्छ’, नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिवसमेत रहेका पर्यटन व्यवसायी कुलबहादुर गुरुङ भन्छन्, ‘यो भर्खरै खुलेकाकारण यसलाई भर्जिन टे«ल भनेका छौं । प्राकृतिक सुन्दरताको अवलोकनसँगै नेपालको सांस्कृतिक बिभिधताको अनुभव पनि गर्न पाइन्छ ।’

५, काठमाडौं–सिक्रे–हैबुङ–काठमाडौं
(दुई रात, तीन दिन)


छोटो समयको सवारी यात्रा र त्यसपछिका बाँकी समय पैदल यात्रामा हुने यो ‘ट्रेक’ दुई रात तीन दिनको हुने छ । काठमाडौंदेखि बुढानिलकण्डसम्म नीजी वा सार्वजनिक यातायातमार्फत पुग्ने । त्यसपछी शीवपुरी राष्ट्रिय निकुन्ज हुँदै अगाडि बढ्ने । शीवपुरी डाडाँमा महादेवको मन्दीर छ । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि नुवाकोटको डाडामा आफ्नो सेना राख्न बनाएको बङ्कर छ । त्यहा ढुंगाले बनेको लामो ‘स्टोन ट्रेल’ छ । नुवाकोटको सिक्रे गाउँमा पर्ने अल्छे डाडासम्म स्टोन ट्रेल छ । शीवपुरी डाडाबाट देखिने काठमाडौं उपत्यका र त्यस वपरिपरीको सुन्दर दृश्यसँगै यात्रा अघि बढ्ने छ । काठमाडौंबाट हिडेको पहिलो रातको बसाई सिक्रेमा हुने छ ।

सिक्रे गुरुङ गाउँ हो । त्यहाँ स्थानीय खाने कुरासँगै ट्राउट माछा, अलैंची पाइन्छ । दोस्रो दिनको यात्रा सिक्रेबाट सुरु हुन्छ । सिक्रेबाट ६ घण्टाको यात्रापछि नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने पाटी भन्ज्याङ पुगिन्छ । दोस्रो दिनको बसाई पाटी भन्ज्याङमा हुने छ । पाटी भन्ज्याङमा किवी, ट्राउट माछा, भीर मौरीको मह पाइन्छ । तेस्रो दिन बिहानको खाना खान सिन्धुपाल्चोकको हैबुङ पुगिन्छ । खाना खाएपछि काठमाडौं फर्कने यात्रा सुरु हुने छ । त्यस क्रममा हैबुङमा रहेको चिया बगानको अवलोकन गर्न पाइन्छ ।

‘यो रुटमा भिलेज टुर हुन्छ । लोकल कल्चरको अवलोकन गर्न पाइन्छ’, यो रुटको प्रवद्र्धनमा लागेका हैबुङका पर्यटन व्यवसायी किशनराज गुरुङ भन्छन्, ‘जङ्गल वल्क, टी गार्डेनको अवलोकनदेखि होम स्टे मै बसेर गाउले जीवनको अनुभव गर्न पनि सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार