कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्यहरु

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटन लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् ।

तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारे भीर, कालू पाणेँ समाधी स्थल, दमौलीको मानुङकोट, काभ्रेस्थलीको शान्तीधाम कोरोना महामारी सुरु भएपछि धेरैको रोजाइमा परेको नयाँ गन्तव्य बन्यो । यी गन्तव्यमा अहिले पनि उत्तिकै भीड लाग्ने गरेको छ ।

यी गन्तव्य यसअघिदेखि नै सञ्चालनमा थिए । यद्यपि, यत्तिको चर्चामा कहिल्यै आएको थिएन । कोरोना भाइरस महामारी सुरु भएपछि लामो समय घरभित्रै बसिरहेकाहरु दृश्यावलोकन र नयाँ वातावरणको अनुभव गर्न ती गन्तव्य पुगे । व्यक्तीगत सवारी साधन हुनेहरु र साइकल यात्रा गर्न मन पराउनेहरु नियमित पुगे । हाइकिङ गर्नेहरुको संख्या पनि उत्तिकै रह्यो ।

कोरोना महामारी यी गन्तव्यलाई ‘ब्रान्डिङ’ गर्ने अवसर बन्यो । त्यसको माध्यम रह्यो फेसबुक, ट्विटर, इन्स्टाग्रामदेखि टिकटक जस्ता सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा यी गन्तव्यको तस्विर र भिडियो भाइलर बन्यो । त्यसले उक्त गन्तव्य धाउनेको संख्या बढ्दै गयो । कोरोना महामारीको समयमा चलेका केही नयाँ गन्तव्य,

शान्तीधाम काभ्रेस्थली
यो गन्तव्य कोरोना भाइरस महामारी सुरु भएपछि चलेको अर्काे सुन्दर गन्तव्य हो । बालाजु बाइपास, माछा पोखरी हुँदै काभ्रेस्थलीसम्म पुग्न सकिन्छ । काभ्रेस्थलीसम्म पिच बाटो छ । त्यसैले त्यहासम्म बाइक र गाडीमार्फत पुग्न सकिन्छ । काभ्रेस्थली बसपार्कबाट झण्डै एक घण्टाको हिडाइपछि शान्तीधाम पुगिन्छ । अझै अगाडि हिडेपछि झण्डा पार्क पुगिन्छ, जहाँ नेपालकै ठूलो झण्डा राखिएको छ । त्यहाँबाट काठमाडौं उपत्यकाको पूरै दृश्य देखिने पर्यटन व्यवसायी एवं स्थानीय सिम्बीर घले भन्नुहुन्छ । ‘शान्तीधाम र झण्डा पार्कबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ’, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपालका मिडिया संयोजकसमेत रहनु भएका घले भन्नुहुन्छ, ‘त्यसका साथै स्थानीय खानाको स्वाद लिन पनि पाइन्छ ।’ घलेका अनुसार गाउँको परिवेश भएकाले छोटो दूरीमै पनि काठमाडौंको भन्दा फरक अनुभव गर्न पाइन्छ । ठूला होटल छैनन् । तर, गाउँले शैलीमा स्थानीय खानाको स्वाद चाख्न पाइन्छ ।

तीनधारे (बाहुबली) झरना
काभ्रेको रोशी गाउँपालिका दुई काफलडाँडामा पर्छ तीनधारे झरना । यो झरना प्राकृतिक रुपमै सुन्दर छ । उपत्यकाबाट समेत नजिकको दूरीमा पर्ने तीनधारे झरना कोरोना महामारी सुरु भएसँगै चर्चामा आएको गन्तव्य हो । यो झरना काठमाडौंदेखि झण्डै ६० किलोमिटरको दूरीमा पर्दछ । व्यक्तीगत सवारी साधनमा एक दिनमै झरना पुगेर काठमाडौं फर्कन सकिन्छ । काठमाडौंबाट भक्तपुर हुँदै बिपी हाईवेबाट उक्त झरना पुग्न सकिन्छ । हिन्दी चलचित्र बाहुबलीमा देखाइएको जस्तै झरना रहेका कारण कतिपयले यसलाई बाहुबली झरना पनि भन्ने गरेका छन् । यद्यपि, यहाँसम्म पुग्ने बाटो भने केही समस्या छ । बिपी हाईवे छुटेपछि कच्चि बाटो सुरु हुन्छ । कतिपय ठाउँमा बाइक चलाउनसमेत मुस्किल हुने गर्दछ । बाटोको स्तर उन्नती र थप भौतिक पूर्वाधार पनि थप्ने हो भने यो झरना हेर्न आन्तरिक र बाह्य पर्यटकको घुइचो लाग्ने छ ।

कालू पाणेँ समाधी स्थल
कोरोना महामारी सुरु भएपछि चलेको काठमाडौं नजिकको गन्तव्य हो, कालू पाणेँ समाधि स्थल । चन्द्रागिरी नगरपालिकाअन्तर्गत पर्ने यो गन्तव्य पछिल्लो समय निक्कै चर्चित छ । धेरै मान्छेहरु साइक्लिङ गर्न यो रुट रोज्छन् । गन्तव्यसम्मै पिच बाटो र वरपर सुन्दर वातावरण रहेकाले पनि मान्छेहरु साइकल लिएर त्यहाँ पुग्न रुचाउँछन् । कलंकीबाट स्युचाटार, खड्का गाउँ, स्विजरल्यान्ड पार्क, इन्द्र दह हुँदै त्यहाँ पुग्न सकिन्छ । यो गन्तव्य दृश्यावलोकन लागि त चर्चित छ नै धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । त्यस नजिकै माता मनकामनाको मन्दिर बनाइएको छ । त्यसभन्दा केही तल इन्द्र दह छ । भगवान इन्द्र वर्षमा एक पटक उक्त दहमा आउँछन् भन्ने विश्वास रहेको छ । कालू पाडेँ समाधी स्थलबाट अन्नपूर्ण हिम श्रृङ्खला, गणेश हिमाल र लाङटाङ हिम शृङ्खला स्पष्ट देख्न सकिन्छ । त्यहाँबाट काठमाडौं उपत्यका अझ प्रष्टसँग हेर्न पाइन्छ । ‘त्यहाँबाट चारैतर्फ निक्कै सुन्दर दृश्य देखिन्छ । अन्नपूर्णदेखि धौलागिरीसम्मका हिमश्रृखला हेर्न पाइन्छ भने काठमाडौं उपत्यकाको दृश्य अझ राम्रो देखिन्छ’, साइकल अभियन्ता योगन्द्रसिंह बस्न्यात भन्छन्, ‘यो रुटमा स्थानीय परिवेशको पनि अनुभव गर्न पाइन्छ ।’

तारेभीर
काठमाडौंबाट नजिकको अर्काे गन्तव्य हो, तारेभीर, जहा कोरोना महामारी सुरु भएपछि मान्छेको भीड लाग्न थाल्यो । यो गन्तव्य हाइकिङ र दृश्यावलोकन दुई उदेश्यका लागि चर्चित छ । त्यसका लागि दुई फरक बाटोहरु छन् । हाइकिङ गर्न जानेहरु कपन, जगडोलहुँदै अगाडि बढ्छन् । प्रायःले जगडोलस्थित शहिद पार्कबाटै हाइकिङ सुरु गर्छन् । केहीले त्योभन्दा केही माथिबाट हाइकिङ सुरु गर्छन् । तारेभीरसम्म पुग्न यो रुटमा डेढदेखि दुई घण्टा हिड्नै पर्छ । सल्लाको जंगलको बिचबाट उकालो उक्लदाँको मज्जा नै बेग्लै हुने गर्दछ । गाडीमै सिधै डाँडामा पुग्ने अर्काे रुट पनि छ । यो रुट बुढानिलकण्ठबाट सुरु हुन्छ । त्यहाँबाट बाइक वा गाडीमा सिधै डाँडामा पुग्न सकिन्छ । त्यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । शारीरिक कसरत हुने दृष्टिकोणले हात्रै हैन, दृश्यावलोकन र फरक परिबेसको अनुभव गर्न पनि मान्छेहरु तारेभीर जाने गर्छन् । ‘यो काठमाडौं उपत्यकाबाट निक्कै नजिकको दूरीमा पर्दछ । मान्छेहरु मर्निङ वाल्कका लागि पनि यहाँसम्म आइपुग्छन्’, स्थानीय विवेक तामाङ भन्नुहुन्छ, ‘यहाँबाट उपत्यकाको पूरा दृश्य त सुन्दर देखिन्छ नै, नजिकै गाउँको परिवेशको अनुभव पनि गर्न पाउनुहुने छ ।’

मानुङकोट, दमौली
यो गन्तव्य पनि कोरोना भाइरस महामारी सुरु भएपछि खुबै चलेको गन्तव्य हो । मान्छेको थेगिनसक्नुको भिड लाग्न थालेपछि यहाँ अहिले प्रहरीले दिनमा तीन सयभन्दा बढी जान नपाउने नियम सुरु गरेको छ । दमौली बजारबाट झण्डै सात किलोमिटरको दूरीमा रहेको मानुङकोट सूर्याेदय र सूर्यास्थ हेर्न मान्छेहरुको भिड लाग्ने गर्दछ । अहिलेको मौसममा दमौली बजारमाथि लाग्ने कुहिरोको दृश्य हेर्न पनि मान्छेहरु त्यहाँ जाने गरेको स्थानीय पर्यटन व्यवसायी गुप्तबहादुर भण्डारी बताउनुहुन्छ । स्थानीय मनोरम दृश्यले झनै लोभ्याउने गर्दछ । दमौली बजारबाट मात्रै हैन, छिमेकी पोखरा र काठमाडौंबाट समेत मान्छेहरु मानुङकोट पुग्छन् । कतिपय मान्छेहरु हाइस वा उत्रै साइजको गाडी लिएर पुग्छन् । धेरै जसो बाइकमै पुग्छन् । टाढाको दूरीबाट जानेहरु दमौली बजारमा बास बस्छन् । बिहानै सूर्याेदय र बेलुका सूर्यास्त हेरेपछि फर्कने गर्छन् । तनहुँ पर्यटनका अध्यक्षसमेत रहनुभएका भण्डारी कोरोना भाइरस सुरु भएसँगै उक्त गन्तव्य धाउनेको संख्या ह्वात्तै बढेको बताउछन् ।
‘हामीले पहिलेदेखि नै उक्त ठाउँलाई प्रवद्र्धन गर्ने प्रयास गरेका हौं । यद्यपि, भनेको जस्तो प्रचार भइरहेको थिएन । यस पटक कोरोना भाइरस सुरु भएपछि धेरै चहल पहल बढ्यो । धेरै मान्छे हेर्न आए’, भण्डारी भन्नुहुन्छ, ‘त्यसबाटै यो ठाउँले धेरै चर्चा पनि पाएको छ । प्रचार पनि भएको छ । पर्यटन व्यवसायी पनि भएको नाताले खुसी लागेको छ ।’

पछिल्लो समय यी गन्तव्य धेरै चले पनि यहाँसम्म पुग्ने बाटो सहज छैन । कतिपय बाटो त छिचोल्नै मुस्किल छन् । यदि बाटो सहज बनाउन सकिए र तीनमा थप संरचना थप्न सकिए यी गन्तव्यले थप स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सक्छन् । यसले नेपालमा पदयात्रा वा छोटो दूरीको पर्यटन अझ फस्टाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार