‘कसैको पछाडि लागेर हैन, हामी नेतृत्व गरेरै आउँछौं’

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आसन्न निर्वाचनको सरगर्मी बढ्दो छ । यही चुनावी सरगर्मीले व्यवसायीहरु पुसको चिसोमा पनि गर्मीको सहसुस् गरिरहेका छन् ।
नाट्टाको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) को समर्थनमा भीम प्रसाद पन्त र नेपाली कंग्रेसको समर्थनमा अच्युत गुरागाईले आफ्नो प्यानल घोषणा गरेका छन् । यी दुई प्यानलभन्दा छुट्टै मिहिका शाह धाख्वा नेतृत्वको स्वतन्त्र प्यानल पनि घोषणा भएको छ ।

नाट्टाको नयाँ नेतृत्वका लागि स्वतन्त्र टोलीको उम्मेद्वारी किन त ? ‘हामीले नाट्टामा सक्षम नेतृत्वका लागि सबै मिलेर जाऔं भनेका हौं । त्यसका लागि हामीले अन्तिम समयसम्म पनि प्रयास ग¥यौं तर हाम्रो प्रस्तावमा सबै सहमत हुन सक्नुभएन’, अध्यक्ष पदका प्रत्यासी मिहिका भन्नुहुन्छ, ‘हामी आफै पनि सक्षम छौं । सहमती नबन्दा हामी आफै किन अघि नबढ्ने भन्ने कुरा आयो । त्यसैले नाट्टाको नयाँ नेतृत्वका लागि हामीले स्वतन्त्र प्यानलको घोषणा गरेका हौं ।’

घोषित तीन प्यानलमध्ये मिहिका नेतृत्वको प्यानल उदाहरणीय देखिएको छ, जसले नेपाली समाजलाई महिला सशक्तिकरण र समावेशिताको पाठ सिकाएको छ । यो समूहले अध्यक्षदेखि महत्वपूर्ण पदमा महिलालाई अघि सारेको छ । अध्यक्षपछि महासचिवमा कमला गुरुङ र कोषाध्यक्षमा देवकी गुरुङलाई अघि सारिएको छ । सदस्य पदमा पनि महिलाको उम्मेद्वारी प्रसस्तै छन् ।
नाट्टाको यी पदमा उहाँहरुको उम्मेद्वारी आफैमा ऐतिहासिक बनेको छ । अध्यक्षमा निर्वाचित भए, मिहिका नाट्टाको ५२ वर्षे इतिहासमा अध्यक्ष बन्ने मात्रै दोस्रो महिला बन्नुहुनेछ । यसअघि सन् १९९७ मा अम्बिका श्रेष्ठ अध्यक्ष बन्नुभएपछि कुनै पनि महिलाले फेरि त्यो जिम्मेवारी पाएका छैनन् ।
महासचिव र कोषाध्यक्ष पदमा पनि महिलाहरुको उम्मेद्वारी यस्तै ऐतिहासिक बनेको छ । मिहिका, कमला र देवकीले आफूलाई कुनै न कुनै संस्थाको नेतृत्वमा स्थापित गराइसक्नु भएको छ । जेनिथ एक्स्पिरियन्सेज ट्राभल सर्भिसका प्रबन्ध निर्देशक मिहिका सन् २०१४–०१६ को कार्यकालमा नाट्टाको महासचिव हुनुहुन्थ्यो । ट्राभल लाइटका प्रवन्ध निर्देशक कमला गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल जीटीनका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ नाट्टाका पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
कोषाध्यक्षका प्रत्यासी देवकीसँग यस क्षेत्रमा लामो समय कार्यरत रहेर बटुलेको अनुभव छ । आफ्नै व्यवसाय सुरु गर्नुअघि उहाँले गण्डकी ट्राभेल्समा एकाउन्ट सेक्सनको उपनिर्देशकको रुपमा काम गर्नुभएको थियो । आफ्नो पुरानो कामको अनुभवले पनि देवकी कोषाध्यक्ष पदका लागि सही उम्मेद्वार हुनुहुन्छ ।
त्यसैले यी महिलाले आफ्नो उम्मेद्वारीमा मात्रै हैन, निर्वाचित भए जिम्मेवारी सम्हाल्न पनि सक्षह हुनुहुने छ । महासचिवका प्रत्यासी कमला गुरुङ भन्नुहुन्छ, ‘हामी आफ्नो व्यवसाय सञ्चालन गरेर मात्रै हैन, विभिन्न संस्थाको नेतृत्वमा आफूलाई प्रमाणित गरेर आएका छौं । अब हामी कसैको पछि लागेर हैन, आफै नेतृत्व गरेर अघि बढ्न सक्षम छौं । नाट्टाको यो निर्वाचनले त्यो विश्वासलाई थप प्रमाणीत गर्नेछ ।’
नाट्टाको निर्वाचन आगामी माघ ३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनमा ४ सय ४८ मतदाताले मतदान गर्ने छन् ।
मिहिका शाह धाख्वाः अध्यक्ष पदकी प्रत्यासी
अध्यक्ष पदका प्रत्यासी मिहिका सफल व्यवसायी हुनुहुन्छ । दुई दशकभन्दा लामो समयदेखि नेपाली पर्यटन क्षेत्रमा संलग्न रहनुभएकी मिहिका सन् २०१४–०१६ को कार्यकालमा नाट्टाको महासचिव हुनुहुन्थो । महासचिवको जिम्मेवारीमा आफूलाई प्रमाणीत गरिसक्नु भएकी मिहिका नाट्टाको आसन्न निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अवसर पाएको अवस्थामा नेतृत्वमा फेरि आफूलाई प्रमाणित गरेर देखाउँने छु ।’ जेनिथ एक्सपिरियन्सेज ट्राभल सर्भिसका प्रवन्ध निर्देशक मिहिका कुशल र कर्मशिल व्यक्तित्व हुनुहुन्छ ।

कमला गुरुङः महासचिव पदकी प्रत्यासी,
पर्यटन क्षेत्रमा परिचित र कुशल ब्यक्तित्व हुनुहुन्छ कमला गुरुङ । नाट्टाको सन् २०१४–०१६ को कार्यकालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका कमला दुई सयभन्दा बढि पर्यटन व्यवसायीहरुको छाता संस्था गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का निर्वमान अध्यक्षसमेत हुनुहुन्छ । जीटीनको सफल नेतृत्व गर्नुभएका कमलासँग पर्यटन क्षेत्रको दुइ दशक लामो अनुभव छ । संघ संस्थामा आफ्नो पदीय भूमिकामा उल्लेख्य काम गर्नुभएका कमला नाट्टाको महासचिव पदका लागि तयार हुनुभएको छ । हरेक क्षेत्रमा महिलाले लडेरै आफ्नो स्थान र पहिचान बनाउन आवश्य रहेको उहाँ बताउनुहुन्छ । ट्राभल लाइट प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक कमला महिला र पुरुषभन्दा पनि क्षमता र नेतृत्वका लागि सक्षम ब्यक्तित्वलाई आफ्नो मत दिन मतदातासामु अनुरोध गर्नुहुन्छ ।
देवकी गुरुङः कोषाध्यक्षका प्रत्यासी
देवकी नाट्टाको वर्तमान कार्यसमिति सदस्य हुनुहुन्छ । पर्यटन क्षेत्रमा उहाँले दुई दशकभन्दा लामो अनुभव बटुल्नु भएको छ । आसन्न निर्वाचनमा कोषाध्यक्ष पदको प्रत्यासी बन्नुभएकी देवकी यो पदका लागि सही उमेद्वार हुनुहुन्छ । आफ्नै व्यवसाय सुरु गर्नुअघि उहाँले प्रतिष्ठित कम्पनीमा एकाउन्ट सेक्सनमा डेपुटी डाइरेक्टरको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । देवकी सक्षम व्यक्तिलाई मतदात गर्न अनुरोध गर्नुहुन्छ । ‘हरेक क्षेत्रमा महिलाका लागि चुनौती छ । तर, महिलाहरू ती चुनौती सामना गर्न सक्षम छन्’, उहाँ भन्नुहुन्छ, ‘मैले आफ्नो अनुभव र विज्ञता हेरेर कोषाध्यक्ष पदका लागि उम्मेद्वारी दिएको छु । यो वा त्यो भन्दा पनि सक्षम व्यक्तित्वलाई आफ्नो मत दिन सबै मतदाताहरुमा अनुरोध गर्दछु ।’ देवकी प्रेस्टिज नेपाल ट्राभल एण्ड टुरका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार