प्रचुर पर्यटकीय संभावना बोकेको हैबुङमा होमस्टे अभिमुखीकरण

हैबुङ । प्रचुर पर्यटकीय संभावना बोकेको सिन्धुपाल्चोकको हैबुङमा होमस्टे (घरबास) सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । होमस्टेलाई व्यवस्थित गर्दै पर्यटकीय आकर्षणलाई जोड दिन उक्त अभिमुखीकरण तालिम आयोजना गरिएको हो । हैबुङबाट हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । चियाबगान, ट्राउट माछा, किवी खेती यहाँको मुख्य आकर्षण हुन् भने यहाँ प्रशस्त मात्रामा लप्सी पाईन्छ । काठमाडौंबाट हैबुङ पुग्न गाडीमा तीन घण्टाको यात्रा गर्नुपर्नेछ ।

हैबुङको आकर्षणलाई होमस्टे कार्यक्रममार्फत समृद्ध बनाउन सकिने गुरुङ पर्यटन व्यवसायी संघ (जीटिन) का अध्यक्ष कमला गुरुङले बताउनुभयो । ‘यहाँका युवाहरुको सक्रियतालाई तालिमले सहयोग पुग्नेछ ।’उहाँले भन्नुभयो, ‘यसका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहनुपर्दछ ।’ पर्यटकलाई गाउँसम्म पुर्याउन सरोकारवालाहरुसंग सहकार्य गरिने पनि अध्यक्ष गुरुङले बताउनुभयो ।

युवापुस्ताको भविश्य गाउँमै उज्वल हुने भएकाले होमस्टे कार्यक्रममार्फट स्थानीय समुदायको आर्थिक उन्नती गर्न सकिने नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दिपक महतले बताउनुभयो । सुन्दर गाउँको भ्रमण गर्न आउने पाहुनालाई राम्रो स्वागत, सरसफाई, स्थानीय खानपानलाई व्यवस्थित तवरले उपयोग गरी पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।
बारीको साग, गुन्द्रुक, चामल, मकै खेतीबाट गाउँमै बसेर आम्दानी गर्न सकिने भएकाले विदेशी मुद्रा आर्जन गर्न विदेश जान नपर्ने जीटिनका उपाध्यक्ष अम्बीर गुरुङले बताउनुभयो । ‘जातीय विविधता, भौगोलिक सुन्दरता बोकेको हैबुङ पर्यटकीय गन्तब्य बन्न उपयुक्त छ ।’ उपाध्यक्ष गुरुङले विविध विशेषता बोकेको उक्त गाउँलाई व्यवस्थित बनाउन तालिमका लािग सहकार्य गर्न जीटिन सधैं तयार रहेको बताउनुभयो ।

हैबुङ पर्यटकीय रुपमा सुन्दर गाउँ भएकाले होमस्टे कार्यक्रममार्फत आफ्नै घरलाई सिंगारेर, घरकै खानालाई व्यवस्थित रुपमा पकाएर खुवाएर विदेशी पर्यटकलाई वास दिन सकिने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले बताउनुभयो । होमस्टे व्यवस्थित भए हैबुङको प्रचारप्रसारमा टानले भूमिका खेल्ने शेर्पाले बताउनुभयो । ‘होमस्टे कार्यक्रमले स्थानीय तहमा रोजगारी सिर्जना गर्नेछ ।’उहाँले भन्नुभयो, ‘स्थानीयले पर्यटकीय रुटहरु निर्माण गरी पर्यटन रुट बेचेर पनि आम्दानी गर्न सकिनेछ ।’

युवाहरुमा बेरोजगारीले वितृष्णा जागिरहेको अवस्थामा हैबुङमा दिगो आयश्रोतको विकास गर्न निरन्तर लागिपर्ने मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङका वडा अध्यक्ष बसन्त गुरुङले बताउनुभयो । ‘हामीसंग रितिरिवाज, भेषभूषा, संस्कृति, खोलानाला, हिमाल छन् त्यसैलाई बेचेर हामी रोजगारी सिर्जना गर्नेछौं ।’ उहाँले भन्नुभयो, ‘हाम्रो गाउँसम्म पर्यटक पु¥याउन र प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरुले भूमिका खेल्नैपर्छ । होटलमा बस्न नचाहने र नसक्नेको चाहना हैबुङमा निर्माण हुने होमस्टेले पुरा गर्ने पनि उहाँले बताउनुभयो । ‘आफ्नो घरमा जे छ त्यहि बेचेर आर्थिक आम्दानी र रोजगारी सिर्जना गर्न सकिनेछ ।’

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका महासचिव जस्फा पाण्डेले होमस्टेको प्रभावकारीता र यसबाट आर्थिक आम्दानी हुनेभएकाले स्थानीय खाना खुवाएर गाउँको स्थानीयता झल्काउन सकिने बताउनुभयो ।
हैबुङ ३ का स्थानीय ज्ञानबहादुर गुरुङले होमस्टे सञ्चालन भए आफ्नै बारीको अर्गा्निक उत्पादनले स्थानीयको जीउने आधार र आम्दानीको श्रोत बन्ने बताउनुभयो ।

तालिमले पाहुनालाई कस्तो व्यवहार गर्ने, स्थानीय उत्पादनको उपयोग गर्नेबारे जानकारी प्राप्त भएको हैबुङ ३ का सविता गुरुङले बताउनुभयो । ‘हाम्रो गाउँमा फलेका धेरै चीजहरु खेर गइरहेका छन् । होमस्टे कार्यक्रमले यी कुराहरुको उपयोग गर्न सकिने थाहा पाएँ ।’ उहाँले भन्नुभयो, ‘आफ्नै बारीको गुन्द्रुक ढिंडो बेचेर दुईचार पैसा कमाउन पाईनु हाम्रो लागि राम्रो कुरा हो ।’ हामस्टेमा पर्यटकलाई आफैले आउआउ भनेर बोलाउँदा नआउने र नसकिने भएकाले हैबुङमा पर्यटकलाई पुर्याउने वातावरण र प्रचारप्रसारमा सरोकारवालाहरुको साथ अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

होमस्टे कार्यक्रमले पर्यटकका लागि गाउँमा सुरक्षा, आफैसंग भएको रितिरिवाज र संस्कृति जोगाउन र बेचेर आर्थिक आम्दानी गर्न सकिने तालिमबाट सिक्ने मौका मिलेको स्थानीय उर्मिला तामाङ र ङामशेरे तामाले बताउनुभयो । पछिल्लो समयमा हैबुङमा आन्तरिक पर्यटकहरु आउन थालेको हैबुङ ३ विन्दुटोलका कुमार बञ्जाराले बताउनुभयो ।

होमस्टे सम्बन्धी अभिमुखीकरण तालीम नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दिपक महत, नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङ, एनएमकै सचिवालय सदस्य विनय शाक्य, पर्यटन व्यवसायी तथा अर्गा्निक फार्महाउस कपनका सञ्चालक संगम शेर्पा लगायतले होमस्टेबारे आधारभूत तालिम प्रदान गर्नुभएको थियो ।

जीटिनको आयोजनामा सञ्चालित तालिम नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र एनएमए, टान र भिटोफको सहयोगमा सञ्चालन गरिएको हो । स्थानीय उत्पादनबाट आर्थिक बृद्धि र होमस्टे कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्न तालिमको आयोजना गरीएको जीटिनका महासचिव ईश्वर गुरुङले बताउनुभयो । तालिममा स्थानीय ५५ जना युवा तथा आमासमुहको सहभागीता रहेको थियो । हैबुङ जान चाहनले साईकलयात्रा र मोटरबाईक यात्राबाट थप मनोरञ्जन लिन सक्ने स्थानीय युवाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार