काठमाडौं । वर्षेनी नेपालमा लाखौंको संख्यामा पर्यटक भित्रने गर्दछ । नेपाल भित्रने पर्यटक नेपालको सुन्दरताको स्वाद लिन र नजिकबाट प्रकृतीको अनुभुति गर्न हिमाल र पहाड लगायत प्राकृतिक सुन्दर ठाउँहरुमा पुग्ने गर्दछन् । यिनै पर्यटकहरुलाई वातावरणमैंत्री पर्यटन बनाउन काठमाडौं ईन्भाइरोमेन्ट एडुकेशन प्रोजेक्ट (किप) ले जोड दिएको छ ।
पर्यटनले नै हाम्रा प्राकृतिक सुन्दरताको विश्वबजारमा प्रचारप्रसार भएका छन् । तर विश्वका पर्यटक नेपाल आउँदा र नेपालको हिमाल, पहाड र नदीलाई चुम्दा संगसंगै पुग्ने वातावरणीय प्रदुषण, फोहोर व्यवस्थापन, प्राकृतिक श्रोतमा पुग्ने अल्पकालिन र दीघकालिन असर लगायत यावत पाटोमा भने सबैको ध्यान पुग्न सकिरहेको छैन । पर्यटक आउँदा खुशी हुने हामी वातावरणमैंत्री पर्यटनका विषयमा कति सचेत छौं त? यस्ता विषयमा काम गर्ने विरलै संस्थामध्ये एक हो किप । किपले नेपालको पर्यटनसंगै वातावरणीय पाटोमा काम गर्दै आएको छ ।
तीन दशकभन्दा लामो समयदेखी किपले यिनै वातावरणमैंत्री पर्यटन निर्माणमा महत्वपूर्ण कामहरु गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा पर्यटकहरुको पहुँचसंगै उनीहरुले लैजाने खानेकुराहरुबाट निस्कने फोहोर, वर्षेनी लाखौं पर्यटकले निष्कासन गर्ने मलमूत्र, प्लाष्टिकजन्य फोहोर, ठाउँठाउँमा राखिएका अनावश्यक होडिङ बोर्डहरु लगायत प्रकृतिक सुन्दरतामाथी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परेको नकारात्मक प्रभावका बारेमा जनचेतनामुलक कामहरु गर्दै आएको किपले जनाएको छ ।

वातावरणमैंत्री पर्यटनकै सेरोफेरोमा रहेर हालै किपको २९ औं साधारणसभा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी डाक्टर गणेश गुरुङले विश्वका पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउनुभयो । सगरमाथामा जाँदा पर्यटकले लैजाने खाद्यान्न र अन्य सामाग्रीहरुले नित्याएका प्रदुषण र यसले विदेशी पर्यटकहरुमा परेको नकारात्मक धारणाबारेमा चिन्ता व्यक्त गर्नुभयो । सगरमाथाको पदमार्गमा देखिएको फोहोर र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरामा विदेशी पर्यटकमा नराम्रो छाप परिरहेको आफुले अनुभव गरेको पनि डाक्टर गुरुङले बताउनुभयो । ‘सगरमाथा जाने बाटोलाई टोइलेट पेपर ट्रेल भन्दो रहेछ, र नेपालको आकाश असुरक्षित छ भन्ने उनीहरुको धारणा मैले सुनेको छु ।’ उहाँले भन्नुभयो, ‘सगरमाथाको देश भनेर चिनिने नेपाललाई विदेशीले सगरमाथा जाने पदमार्गमा देखिएको फोहोर कै कारण टोइलेट टे«ल भनेको रहेछ ।’ यो विषयमा किप जस्तै सरोकारवाला निकाय, व्यवसायी, संघसंस्था सबैको गम्भीर चासो र सरोकारको विषय बन्नुपर्नेमा जोड दिनुभयो । किपले वातावरणीय क्षेत्रमा अझै सिर्जनात्मक कामहरु गर्न पनि डाक्टर गुरुङले सुझाव दिनुभयो ।

दिनप्रतिदिन बढ्दो फोहोर र प्रदुषणले सगरमाथा लगायत विभिन्न पर्यटकीय क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न वातावरणमैत्री पर्यटनका निम्ती किपले लामो प्रयास र छलफलपछि मिनिमल इमयप्याक्ट ट्राभलको अवधारणा ल्याउन सफल भएको किपका अध्यक्ष देवीप्रसाद पन्तले बताउनुभयो । ‘तीन वर्षको लामो प्रयास, संघर्ष र विभिन्न समयमा गरिएको छलफल अन्तरकृया पश्चात मिनिमल इमयाक्ट ट्राभलको अवधारणा यहाँहरुमाझ ल्याएका छौं ।’ उहाँले भन्नुभयो, ‘हामीले यो दौडानमा विद्यालय स्तरका विद्यार्थीदखी लिएर पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तित्वहरु र संसद भवनमा रहेका व्यक्तिहरुलाई पनि वातावरणीय जनचेतना जगाउन आवश्यक छ भन्ने लागेर यो अवधारणा ल्याएका हौं ।’ मिनिमल इम्प्याक्ट अवधारणाले हिमाल, जंगल र नदी तीनवटै क्षेत्रलाई समेटेको पनि अध्यक्ष पन्तले उल्लेख गर्नुभयो ।

किपले पर्यटनसंग जोडिएका जनशक्तिहरुलाई हरेक वर्ष अंग्रेजी भाषाको तालिम, प्राथमिक उपचार तालिम, सामुदायिक विकासका लागि खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ । चितवनको चेपाङ बस्तीमा हालै स्वास्थ्य चौकी स्थापना लगायत धादिङ, नुवाकोट लगायतका जिल्लामा पनि किपले स्वास्थ्य, खानेपानी र पश्चिमी जिल्लाहरुमा शिक्षा क्षेत्रमा काम गरिरहेको किपमा महासचिव पिताम्बर गुरुङले बताउनुभयो ।

कार्यक्रममा किपका सिईओ इयान वालले किपले गर्दै आएका विभिन्न गतिविधीहरु र पर्यटनले वातावरणीय क्षेत्रमा पारेको प्रभाव र देखिएका चुनौतीहरु वावरणमैंत्री पर्यटनका लागि गर्नुपर्ने कामहरुबारेमा चर्चा गर्नुभयो ।

नेपालको विविधतामाथी मानवबाट हुने क्षतिलाई कम गर्न किपले मिनिमल इम्प्याक्ट ट्राभल (एमआइटी)को अवधारणालाई अघि सारेको म्यानेजर तारा दत्त जोशीले जानकारी दिनुभयो । एमआईटी अन्तर्गत नौ वटा एलिमेन्ट्स रहेका छन् । जस अन्तर्गत पूर्व योजना र तयारी, स्थापित पदमार्गको संरक्षण र प्रवद्र्धन, जिम्मेवार क्याम्पिङ, फोहोर व्यवस्थापन, प्रकृतिको संरक्षण, सम्मानजनक घुमफिर व्यवहार, आगो र खनिज पदार्थको समुचित प्रयोग, वन्यजन्तुको सुरक्षा र जनावरको सुरक्षा लगायत रहेको किपद्वारा प्रकाशित ब्रोसरमा उल्लेख छ ।

किपले गरेको कामबारे जानकारी गराउँदै अमित खड्काले पर्यटकहरुले नेपालको सुन्दर भौगोलिक विविधतामा विश्वकै विविधता अनुभव गर्न सक्ने बताउनुभयो । उहाँले नेपाल सानो देश भएपनि विविधतामा धनी रहेको उल्लेख गर्नुभयो । ‘पर्यटकीय क्षेत्रलाई मात्र हेर्ने हो भने पनि नेपालमा विश्वकै उत्कृष्ट विविधता भएको देखाउँछ ।’, उहाँले भन्नुभयो, ‘यहाँको विविधतालाई जोगाइराख्न मानवको उपस्थितीले वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम भन्दा कम गर्न हामी सबैले जिम्मेवार हुनुपर्दछ । र यसका लागि किपले पनि यसैको सेरोफेरोमा वातावरणमैंत्री कामहरु गरीरहेको छ ।’
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले वातावरणमैंत्री पर्यटनका बारेमा चासो व्यक्त गरेका थिए । किपले वातावरण संरक्षण, स्थानीय संस्कृतिको सम्मान, दिगो पर्यटन अभ्यास, शिक्षा, स्वास्थ्य, खानेपानी र सचेतना लगायतको पाटोमा काम गर्दै आएको छ । पर्यटन व्यवसायीलाई नेतृत्व विकास तालिम, प्राथमिक उपचार तालिम, अंगे्रजी भाषाको तालिम, गाईड र पोटर्सहरुलाई सचेतना तालिम लगायत पर्यटन र वातावरणसंग जोडिएका विभिन्न कामहरु गर्दै आएको छ । वातावरणीय क्षेत्रमा योगदान गर्न चाहने जोकोहीले पनि यस संस्थाको सदस्य बन्न र योगदान गर्न सक्ने पनि किपले जनाएको छ ।