दार्चुलाको ल्याह्युल पिक(भभया हिमाल)मा पहिलो सफल आरोहण

काठमाडौं । नेपालको सूदुरपश्चिममा अवस्थित भभया हिमाल (६३९६मी) को पहिलो आरोहण सफल भएको छ । सूदुरपश्चिम दार्चुला जिल्लामा अवस्थित भभया हिमालमा नेपाल पर्वतारोहण सङ्घको पर्वतीय प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सात सदस्यीय टोलीले बिहिबार पहिलो पटक सफल आरोहण गरेका हुन् ।

अपि हिमाल क्षेत्रमा अवस्थित भभया हिमालमा पहिलो आरोहण सफल भएको नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ । एनएमएका अनुसार प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ र प्रशिक्षार्थीहरु सुर्जन तामाङ, सूर्यमान तामाङ, डाली शेर्पा र भीषण योन्जनले भभया हिमालको सफल आरोहण गरेका हुन् ।

अपी हिमालको दायाँपट्टी अवस्थित भभया हिमालको सफल आरोहणले अपि हिमाल क्षेत्रमा पर्यटन प्रवद्र्धन र हिमाल आरोहणलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । सूदुरपश्चिमका हिमालहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल पर्वतारोहण सङ्घले नेपाल पर्यटन बोर्ड र यूएनडिपीले संयुक्त रूपमा सञ्चालन गरेको दीगो पर्यटन परियोजना र अपीहिमाल गाउँपालिकासँगको सहकार्यमा त्यहाँ पेशागत पर्वतीय पथ प्रदर्शनको ग्रीष्मकालीन शिप तालिम सञ्चालन गरिएको हाे ।

तालिमकै क्रममा सो हिमालको आरोहण गरिएको हो । सरकारले सूदुरपश्चिम र कर्णालीमा अवस्थित ९७ वटा हिमालमा निशुल्क आरोहण खुला गर्ने निर्णय गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार