सुदूरपश्चिमको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा रहेको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न भएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सिटीइभिटीबाट स्वीकृत पाठ्यक्रममा आधारित पेशागत पर्वतीय पथ प्रदर्शकको ग्रीष्मकालीन सीप तालिम ल्हायुल पिकमा आयोजना गरेको हो।

संघले सुदूरपश्चिममा रहेको हिमालहरूको प्रवर्धन गर्ने उद्देश्य स्वरूप नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) द्वारा सञ्चालित दीगो पर्यटन परियोजना (एसटिपी) र अपीहिमाल गाउँपालिकासँगको सहकार्यमा पहिलोपटक त्यस क्षेत्रमा पर्वतारोहण सम्बन्धी तालिम सञ्चालन गरेको हो।

तालिममा १४ जना प्रशिक्षार्थीहरु सहभागी थिए। संघले तालिमको क्रममा एकजना प्रशिक्षक र एकजना प्रशिक्षार्थी घाइते भएको समेत जनाएको छ। तालिम समापन गरी शिखर नजिकबाट फर्किने क्रममा माथिबाट खसेको ढुङ्गा प्रशिक्षार्थी नवाङ तेन्जी शेर्पातर्फ आउँदा उनलाई जोगाउने क्रममा प्रशिक्षक सञ्जिव गुरुङ पनि घाइते भएका हुन्। शेर्पाको हातमा सामान्य चोट लागेको छ भने गुरुङको बाँया खुट्टामा एकल डिस्लोकेसन भएको संघले जनाएको छ। दुबैलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार गराइएको र अहिले घरमै स्वास्थ्य लाभ गरिरहेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार यसअघि जस्तै यस पटकको तालिम पनि अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (युआइएए) को मान्यता प्राप्त छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार