एनएमएको बागमति प्रदेश कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफू अन्तर्गतको बागमती प्रदेश कार्यसमितिलाई आइतबार स्वागत तथा प्रमाणपत्र वितरण गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा एक कार्यक्रमका बिच नवगठिन समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको हो ।

गत २३ आसर २०७८ मा काठमाडौंमा भएको बागमती प्रदेशभित्र रही पर्वतीय पर्यटनमा सक्रिय रहेका पर्यटन व्यवसायी तथा आरोहीहरुको भेलाले दलबहादुर गुरुङको अध्यक्षतामा एनएमको बागमती प्रदेश समिति गठन गरेको थियो । दलबहादुर पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहदै आउनुभएका व्यक्तित्व हुनुहुन्छ ।

बागमती प्रदेश समितिमा मिलनकुमार तामाङ उपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेल कोषाध्यक्ष हुनुहुन्छ । यस्तै, दावा सिङ्गी हेल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, उर्जा तामाङ र ज्ञानबहादुर तामाङ समितिका सदस्य हुनुहुन्छ ।

प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष सन्तवीर लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यस्तै, संघका महासचिव कुलबहादुर गुरुङ, सचिव एवं प्रदेश शाखा समन्वय समितिका संयोजक टिकाराम गुरुङ लगायतले खादा लगाएर नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको स्वागत गरे । त्यस लगत्तै संघ अध्यक्ष लामाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

संघका अध्यक्ष सन्तवीर लामाले प्रदेश समितिलाई केन्द्रको सम्पूर्ण सहयोग रहने बताउनुभयो । ‘एनएमएको अन्य प्रदेश समितिले पनि राम्रो काम गरिरहेको छ । मलाई विश्वास छ कि यो समितिले पनि राम्रो काम गर्ने छ’, उहाँले भन्नुभयो, ‘समितिले बनाएको राम्रो योजनामा वा समितिले गर्न खोजेको काममा हाम्रोतर्फबाट सधै सहयोग हुनेछ । हामी सँगै अघि बढ्ने छौं ।’

सो अवसरमा संघले धौलागिरी आरोहणका लागि जान लाग्नुभएका सानु शेर्पालाई संघको झण्डा हस्तान्तरणसहित विदाई गरेको छ । सानुले विश्वभरी रहेका आठ हजारभन्दा माथिका १४ वटा हिमालको सफल आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार