काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले आफ्नो १४ औं स्थापना दिवस र तमू ल्होसार २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम भव्य मनाएको छ । जिटिनले आज काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी आफ्नो १४ औं स्थापना दिवस र तमू ल्होसार २०८२ शुभकामना आदान प्रदान कार्यक्रम मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ र जीटिनका अध्यक्ष पिताम्बर गुरुङले संयुक्त रुपमा केक काटेर जीटिनले स्थापना दिवस मनाइएको हो । जीटिनका अध्यक्ष पिताम्बर गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै जीटिनले गर्दै आएको कामबारे जानकारी गराउनुभयो । अध्यक्ष गुरुङले जीटिनले प्रकाशन गर्न लागेको स्मारिकाको बारेमा समेत जानकारी गराउनुभयो ।
आयोगका माननीय कार्यवाहक अध्यक्ष गुरुङले नेपालको पर्यटकीय अन्नपूर्ण क्षेत्र लगायतका स्थानहरु विश्वको उत्कृष्ट गन्तब्यमा पर्ने उल्लेख गर्नुभयो । साथै उहाँले जीटिनले पर्यटन प्रवद्र्धनमा गरेको योगदानबारे चर्चा समेत गर्नुभयो । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषी भण्डारीले पर्यटकीय क्षेत्रमा ईतिहास बोकेको गुरुङ जाति सास्कृतिक रुपमा धनी रहेको उल्लेख गर्नुभयो । उहाँले जीटिन पर्यटकीय क्षेत्रमा स्थापित नाम रहेको र जीटिनले हरेक संस्थाका व्यक्तित्वहरुलाई निर्णयक तहमा पु¥याउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा योगदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले जीटिनले स्थापना गरेको ‘जीटिन पर्यटन मजदूर कोष्ॉमा व्यक्तिगत पचास हजार रुपैंयाँ समेत प्रदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रामशरण थपलिया, तामाङ पर्यटन व्यवसायीहरुको छाता संस्था रिमठिमका अध्यक्ष सरिता लामा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जीटिनले लमजुङका पर्यटन मजदूर दिलबहादुर गुरुङको परिवारलाई बीस हजार रुपैंयाँ आर्थिक सहयोग प्रदान ग¥यो । दिलबहादुरको हालसालै पर्यटकको सहयोगी भएर जाँदा लेक लागेर ज्यान गएको थियो ।
जीटिनका पूर्वअध्यक्ष अम्बिरबहादुर गुरुङले जीटिनले पर्यटन क्षेत्रमा खटिदा घाइते भएका र मृत्यु भएकालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गर्ने उद्धेश्यले कोषको स्थापना गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अनक्लाइम्ब पिक आरोहण गर्न सफल भएका आरोहीहरुलाई सम्मान गरिएको थियो । जीटिनका उपाध्यक्ष बाबुराम गुरुङले समापन गर्नुभएको कार्यक्रम जीटिनका महासचिव जय गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषामा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पर्यटनसंग जोडिएका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।





























