काठमाडौं । पोखरा र लुम्बिनीमा आयोजना हुने तेस्रो विश्व शान्ति पूजाको तयारी पूरा भएको छ । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ २० गतेदेखि २२ सम्म गरिने पूजाको तयारी पूरा भएको आयोजक नेपाल पर्वतारोहण संघले जनाएको छ । ‘पूजाको सम्पूर्ण तयारी पूरा भइसक्यो, संघका अध्यक्ष शन्तबिर लामाले भन्नुभयो, ‘पूजाले विश्व शान्ति र भ्रमण वर्षलाई सफल बनाउन योगदान पुग्नेछ । ’
विश्व शान्ति पूजाले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसारमा समेत योगदान पुग्ने संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । पूजामा थाइल्याण्ड र श्रीलंकाका राजदूतलाई पनि निमन्त्रणा गरिएको संघका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
विश्व शान्ति पूजामा खर्चतर्फ मितव्ययिता अपनाइएको संघका कोषाध्यक्ष सुदर्शन न्यौपाने जानकारी दिनुभयो । ‘खर्चमा मितव्ययिता अपनाइने छ ।’ उहाँले भन्नुभयो, ‘विश्व शान्ति पूजा र संग्रहालयको स्थापना दिवसमा ६७ लाख खर्च हुने अनुमान छ । यो खर्च पहिले आयोजना गरिएको विश्व शान्ति पूजाको तुलनामा कम हो ।’
पूजा अवधिमा ५० हजारभन्दा बढि धार्मिक पर्यटकले पूजाको अवलोकन भ्रमण गर्ने संघको अनुमान छ ।
समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने संघले जनाएको छ।
सोही दिन बुद्ध धर्म अनुसार महत्वपूर्ण मानिने लामा मुकुट नाच तथा क्याङ्यूर, तिङ्यूर पाठ दुई देखि तीन घण्टासम्म गरिनेछ । उक्त दिन (फेबु्रअरी ५) मा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवस पनि भएकाले प्रमुख अतिथी अध्यक्ष दाहालले झन्डोक्तलन गर्नुहुने तथा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट थान्का फहराई विश्व शान्तिको कामना गरिनेछ ।
कार्यतालिका अनुसार संग्रहालयको १७ औं स्थापना दिवस दिवस पनि परेकाले केक काट्ने तथा धार्मिक पर्यटनको महत्वारे कार्यपत्र समेत प्रस्तुत गरिने संघले जनाएको छ ।
समापन कार्यक्रममा विश्व शान्ति पूजाको अवसरमा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट अभिशेष (वाङ थाप्ने) कार्यक्रम हुनेछ ।