नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कनेः मन्त्री भट्टराई

काठमाडौं । नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । मन्त्रालयमा आयोजित १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मन्त्री भट्टराईले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका वावजुत पनि नेपालको पर्यटन चाँडै सामान्य अवस्थामा फर्कने तथा पर्यटन क्षेत्रको खुशी फर्कने विश्वास ब्यक्त गर्नुभएको हो ।

‘नेपालको पर्यटन चाँडै सामान्य अवस्थामा फर्कने छ र पर्वतारोहणको खुशी फर्कने विश्वास छ ।’, उहाँले भन्नुभयो ‘सगरमाथा नेपाली पर्यटनको पुर्नउत्थानका लागि प्रेरणको श्रोत बनेको छ ।’

दिवसका अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तबीर लामाले सगरमाथा र सगरमाथा आरोहीले विश्वमाझ नेपाललाई परिचित गराएको र ती सबै आरोहीलाई सम्झने विशेष दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस भएको उल्लेख गर्नुभयो ।

विश्वको सर्वोच्च शिखर सगमाथाको चुचुरोमा पहिलो मानव पाईला टेकेको ईतिहासलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइदैं आएको छ । ‘एभरेष्ष्ट इन्स्पायरस फर रिसाइलेन्स’भन्ने मूल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो ।

सन् १९५३ मे २९ का दिन सर एटमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगमाथामा पहिलो मानव पाइला टेकेको स्मरण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ । कार्यक्रममा सरकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार