‘एनएमएलाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक’

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले नेपालको हिमालहरुको व्यवस्थापनको काम गर्दै आइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) लाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

शनिबार एनएमएको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले नेपाली हिमालको व्यवस्थापन र प्रचारमा संघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजिकरणका लागी हामी तयार छौं’, मन्त्री ढकालले भन्नुभयो, ‘एनएमले अहिलेसम्म राम्रो काम गरिरहेको छ । एनएमएले जति प्रभावकारी रुपमा काम गर्न सक्यो, त्यति नै नेपालको पर्वतीय पर्यटनलाई फाइदा हुनेछ ।’

मन्त्री ढकालले संघले व्यहोर्नु परेको अप्ठ्याराहरुमा सरकारले सहयोग गर्ने बचनसमेत दिनुभएको छ । ‘संघले आगामी दिनमा सेवाग्राहीको हितमा अझ राम्रो काम गर्नेमा विश्वस्त छु’, मन्त्री ढकालले भन्नुभयो ।

एनएमएका अध्यक्ष शन्तवीर लामाले चुनौति र समस्याका वावजुद आरोही र संघको हितका लागि आपूm र आफ्नो नेतृत्व एक भएर लागिपरेको बताउनुभयो । उद्घाटन सत्रमा संघले सम्मान र पुरस्कार वितरण कार्यक्रमसमेत गरेको थियो ।

संघले विश्व पर्वतारोहण महासंघ (यूआइएए) को म्यानेजमेन्ट कमिटीमा निर्वाचित हुनुभएका संघका महासचिव कुलबहादुर गुरुङ, नेपाल माउन्टेनियरिङ एकेडेमीको सदस्य पदमा सरकारबाट नियुक्त हुनुभएका संघका सचिव टिकाराम गुरुङलाई सम्मान गरेको थियो । साधारणसभाको अवसरमा संघले प्रकाशन गरेको ‘नेपाल पर्वत’ नामक पुस्तकको विमोचन मन्त्री ढकालले गर्नुभयो ।

यस्तै, संघले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, डाक्टर हर्क गरुङ पर्वतीय पुरस्कार र दावा नोर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । यसैगरी संघका लागि योगदान गर्ने कर्मचारी पूर्व लेखा अधिकृत मेघराज घिमिरे, गार्डेनर ठूलोकान्छा तामाङ लगायतलाई पनि संघले सम्मान गरेको थियो । उद्घाटन सत्रमा पर्यटन संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

संघको ३०औं वार्षिक साधारणसभाले महासचिव कुलबहादुर गुरुङको वार्षिक प्रगति प्रतिवेदन तथा आगमी नीति तथा कार्यक्रम र कोषाध्यक्ष सुदर्शन न्यौपानेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सभाले जुलाई महिनाभित्र संघको चुनावी सधारण सभाको आयोजना गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार