काठमाडौं । गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नोे नाम लेखाएका कीर्तिमानीहरु सम्मिलित एक आरोहण टोलीले नेपाल पर्वतारोहण संघ (एनएमए) को झण्डा मेरा पिकको चुचुरोमा फहराउने भएको छ ।
उक्त टोलीलाई एनएमएले शनिबार संस्थाको झण्डा हस्तान्तरण गर्दै विदाई गरेको छ । संघका अध्यक्ष सन्तबीर लामाले आरोहण टोलीका लिडर सञ्चबहादुर राईलाई संस्थाको झण्डा हस्तान्तरण गर्नुभयो । साथै, संस्थाका उपाध्यक्ष माया शेर्पा, महासचिव कुलबहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, बोर्ड सदस्य सञ्जिव गुरुङ र महाकुलुङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष सागर किरातीले टोलीका सदस्यहरुलाई खादा लगाएर विदाई गर्नुभयो ।
आरोहण टोलीको अन्य सदस्यहरुमा ल्हाक्पा दोर्जी शेर्पा, पूर्णबहादुर राई, माया गुरुङ, टेकबहादुर राई, अमीरराज थापा, बुद्धीराज राई, पुष्कर नेपाल, सिर्जना किराती, शिखरजंग श्रेष्ठ र लक्ष्मण कार्की रहनुभएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पर्ने मेरा पिक आरोहणका लागि टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
टोली लिडर सञ्चबहादुरले कोरोना महामारीका कारण नेपाली पर्यटन क्षेत्र थलिएको अवस्थामा घरेलु पर्यटनलाई चलायमान बनाउने उदेश्यले यो आरोहणको आयोजना तय भएको बताउनुभयो ।
‘कोरोना महामारीले नेपाली पर्यटन क्षेत्र ठप्प प्राय बनेको छ’, पर्यटन व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘हामीले कम्तिमा घरेलु पर्यटनलाई चलायमान बनाउन सकिन्छ कि भन्ने उदेश्यले यो आरोहणको योजना बनाएका हौं ।’
एनएमएका अध्यक्ष लामाले सम्पूर्ण टोलीलाई आरोहण सफलताको शुभकामना दिनुभयो । ‘तपाईहरुले राम्रो काम गर्दै हुनुहुन्छ । तपाईहरुले भन्नुभए जस्तै यसले नेपाली पर्यटन क्षेत्रलाई फेरि लयमा फर्काउन मद्धत गर्ने छ’, संघका अध्यक्ष लामाले भन्नुभयो, ‘एनएमएको सम्पूर्ण टिमको तर्फबाट यहाँहरुलाई आरोहण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’