बीमा रकम बृद्धि गर्न अन्तर्राष्ट्रिय पथप्रदर्शकहरुको माग

काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले पथप्रदर्शकका लागि सरकारले छुट्याएको जीवन बीमा रकममा बृद्धि गर्न माग गरेको छ । समयसँगै सरकारले छुट्याएको रकम अपर्याप्त भएको संघले जनाएको छ ।
१४औं राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक दिवस मनाउँन संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव तुलसिं गुरुङले भन्नुभयो, ‘पर्वतीय पथप्रदर्शकको काम जोखिमपूर्ण छ । त्यसमा सरकारले छुट्याएको रकम समयसँगै बृद्धि हुदै जानु आवश्यक छ ।’

पर्वतीय पथप्रदर्शकहरुका लागि सरकारले हाल १५ लाखको बीमा गरिदिने गरेको छ । उनीहरुले सो रकममा बृद्धि गर्न माग गरेका हुन् ।

कार्यक्रममा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले समयानुकुल पर्यटन क्षेत्रमा सुधार गर्ने बताउनुभयो ।

सो अवसरमा सिटिइभिटीबाट पहिलो पटक पर्वतीय पथप्रदर्शकसम्बन्धी लेभल फोर स्नातक तह सरहको परिक्षा उतीर्ण गर्न सफल पहिलो ब्याचका पथप्रदर्शकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले पर्वतीय पर्यटनमा पथप्रदर्शको भूमिकाबारे खुलेर प्रशंसा गरेका थिए । देशभरीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ६३ पथप्रदर्शक र आठ जना पथप्रदर्शक कोर्षको अन्तिम प्रशिक्षणमा रहेका गरी ७१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार