एनएमएको आयोजनामा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने

भ्रमण वर्षको पहिलो कार्यक्रम

काठमाडौं । विश्व प्रसिद्ध साहसिक खेल आइस क्लाइम्बिङ हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघको १८ गतेदेखि २७ गते (फेब्रुअरी १ देखि १०)सम्म आयोजना हुन लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम आयोजना गर्न लागेको एनएमएले जनाएको छ । आईतबार पत्रकार सम्मेलन गरी विश्व प्रसिद्ध साहसिक खेल भ्रमण वर्षको सुरुवातसंगै पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको आयोजक तथा संघका अध्यक्ष शन्तवीर लामाले बताउनुभयो ।

आयोजकका अनुसार फेस्टिबलमा नेपालका १५ जना र विभिन्न देशबाट प्रतियोगितामा सहभागी हुन आउनेछन् । प्रतियोगिताको लागि नाम दर्ता गर्ने क्रम चलिरहेको सहआयोजक नेपाल क्लाईम्बिङ टिमका महासचिव विष्णु लामाले जानकारी दिनुभयो ।
फेस्टिबलका लागि नेपाल भ्रमण वर्ष २०२० ले पनि सहयोग गरेको छ भने नेपाल सरकार र नेपाल पर्यटन बोर्डले प्रवद्र्धनको जिम्मा लिएको छ ।

अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत रहेको तीन हजार दुई सय मिटरको हुम्दे क्षेत्र आइस क्लाइम्बिङका लागि उपयुक्त क्षेत्र रहेको आयोजकको भनाइ छ । आईस क्लाइम्बिङ फेस्टिबललाई साहसिक खेलको रुपमा विकास गर्दै लैजाने एनएमएका अध्यक्ष लामाले बताउनुभयो ।

आईस क्लाइम्बिङ फेस्टिबलका लागि नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक र नेपाल पर्वतारोहण प्रशिक्षक संघले प्राविधिक सहयोगको जिम्मेवारी निर्वाह गर्ने छन् ।
फेस्टिबलमा आइस क्लाइम्बिङ, साहसिक फिल्म प्रर्दशनी, फोटोग्राफी, स्थानीय जातजातिका संस्कृति प्रर्दशन गरिनेछ। फेस्टिबलले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पु¥याउने विश्वास आयोजकको छ।


अन्नपूर्ण हिमश्रृङ्खला हुँदै अन्नपूर्ण २ र ३ हिमालबाट बगेर आउने १५ बढी झरनाहरुमा आइस क्लाइम्बिङ गर्न सकिन्छ। मङ्सिरको अन्तिमदेखि फागुनको सुरुवात सम्म यी झरना जमेर आइस बन्ने गर्दछ । आइस क्लाइम्बिङका लागि मनाङको हुम्देसंगै सोलुखुम्बुको कोङ्दे, दोलखाको गौरीशंक क्षेत्रलाई पनि मुख्य गन्तब्य मान्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार