काठमाडौं । विश्वकै अग्लो स्थान सगरमाथा क्षेत्रमा अवस्थित गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । भ्रमण वर्षमा पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित गोक्यो तालमा प्रतियोगिता गर्न लागेको आयोजक ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयले जनाएको छ ।
उच्च हिमाली भेगमा पर्यटकीय गन्तब्य स्थापित गराउने र नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्यका साथ गोक्यो तालमा आइस स्केटिङ र हक्की प्रतियोगिता गर्न लागेको भ्रमण वर्षका संयोजक सुरज बैद्यले जानकारी दिनुभयो । ‘नयाँ खेल पर्यटनको विकासका लागि मैंत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता गर्न लागेका छौं।’ संयोजक बैद्यले भन्नुभयो, ‘ फागुन २ गते मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता गर्दैछौं ।’
सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको गोक्यो तालमा यतिबेला पानी जमेर आइस बनेकाले आइस हक्की र आइस स्टेकिङका लागि उपयुक्त अवस्थामा रहेको छ । गोक्यो क्षेत्र हिमताल र हिमाली दृश्यावलोकनका लागि आकर्षक गन्तब्य मानिन्छ ।
आयोजकका अनुसार आइस हक्की र आइस स्केटिङलाई भ्रमण वर्ष २०२० को नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य रहेको छ । प्रतियोगिता हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले गोक्यो क्षेत्रको स्थलगत अध्ययन गरी खेलका लागि उपयुक्त भएको निष्कर्ष निकालेको थियो ।
प्रतियोगिताका लागि ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान) ले समेत सहकार्य गरेको छ । भ्रमण वर्ष सफल बनाउन यस प्रतियोगितालाई प्राथमिकताको साथ सहकार्य गरेको टानका अध्यक्ष अध्यक्ष खुम सुवेदीले जानकारी दिनुभयो ।