काठमाडौं । ‘खिजी देम्बा अल्ट्रा म्याराथन’ हुने भएको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको ओखलढुंगा पर्यटन विकास समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
म्याराथनको दोस्रो संस्करण फागुन १९ गते (२ मार्च) मा हुनेछ । ‘खिजी देम्बा अल्ट्रा म्यारथन २०२० ४२ केएम’ नाम दिइएको साहसिक खेलबाट नेपालको आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई विकास गर्न र खेलको माध्यमबाट विश्वमा सम्प्रेषण गरी पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेमा विश्वस्त रहेको आयोजकले उल्लेख गरेको छ ।
‘नेपालप्रति विदेशी पाहुनाको आकर्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य हो । यस खेलमार्फत प्राकृतिक, सांस्कृतिक सुन्दरताको प्रचार र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ साथै भ्रमण वर्षलाई पनि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास छ ।’ विज्ञप्तिमा भनिएको छ ।
म्याराथन खिजीदेम्बा गाउँपालिका भित्रकै विभिन्न पर्यटकीय स्थललाई समेटेर खिजीफलाटेमा आयोजना गरिनेछ।
आयोजका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौंमै नाम दर्ता गर्न चाहनेका लागि ८ हजार शुल्क लाग्नेछ । खेल हुने स्थानमै उपस्थित हुनेका लागि दर्ता शुल्क २५ सय रुपैंयाँ निर्धारण गरिएको छ ।
म्याथनमा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि क्रमशः ७० हजार, ५५ हजार र ४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथन आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघसंग सहकार्य रहेको आयोजकले जनाएको छ ।