काठमाडौं । नेपाल क्यान्योनिङ एशोसिएसनको आयोजनामा क्यान्योनिङ रन्देभू महोत्सव हुने भएको छ । साहसिक पर्यटनको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवको अवसरमा क्यान्योनिङ इन्ट्री लेभल गाइड तालिम पनि सञ्चालन गरिने छ । मार्च महिनाको १७ गतेदेखि २१ सम्म ५ दिने गाइड तालिम र मार्च २० र २१ गते क्यान्योनिङ रन्देभू कार्यक्रम सञ्चालनको तयारी गरेको आयोजकको विज्ञप्तिमा जनाइएको छ ।
गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ७ न्याउली झरना(छाँगा)मा आयोजना हुने महोत्सवमा क्यान्योनिङ प्रोफेसनल र पर्यटन व्यवसायी लगायत सहभागी गराइ एकआपसमा क्यान्योनिङको ज्ञान, सिप र अनुभव आदानप्रदान गराइने छ ।
आयोजकका अनुसार क्यान्योनिङ रन्देभूमा तीन सय भन्दा बढिको सहभागिता रहने छ । इन्ट्री लेभल क्यान्योनिङ तालिममा धार्चे गाउँपालिकाका स्थानीय १० जनालाई सहभागी गराइनेछ ।
एसियामा अन्तर्राष्ट्रिय क्यान्योनिङ रन्देभू पहिलो पटक सन् २०११ मा आयोजना गरिएको थियो । क्यान्योनिङ रन्देभू सन् २०१३ देखि नेपालको विभिन्न स्थानमा निरन्तर आयोजना गर्दै आएको नेपाल क्यान्योनिङ एशोसिएसनले यो वर्ष धार्चेमा आयोजना गर्न लागेको हो ।
धार्चे गाउँपालिका सहआयोजक रहेको महोत्सवका लागि नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहेको छ ।