‘हिमाललाई जित्यौ तर समाजलाई जित्न सकेनौं’

हिमाल आरोहण गर्दा महिलाहरुलाई धेरै समस्या र चुनौतिहरु आइपर्ने गरेका छन् । महिनौ दिन लगाएर हिमाल आरोहण गरेर फर्कदा खुसीभन्दा बढी दुखी हुनु परेको आरोही महिलाहरुले बताए । एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित छलफल कार्यक्रममा उनीहरुले हिमाल आरोहणमा गएका महिलाको चरित्र हत्या गर्ने, महिलालाई कमजोर आँक्ने, महिला भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा विभेद र शंकाले हेर्ने जस्ता विभेद आफूहरुले भोग्दै आइरहेको बताए ।

‘हिमाल आरोहणमा जाँदा एउटा पुरुषको टेन्टमा छिर्यो भने, यसो तलमाथी कतै गयो भने नकारात्मक सोंच राख्ने र समाजमा दुर्गन्ध फैलाउनेबाट बच्न निक्कै चुनौतिपूर्ण छ,’ सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले भन्नुभयो, ‘सबैभन्दा धेरै यस्ता नकारात्मक सोंच राख्ने र खुट्टा तान्ने महिलाहरु नै हुने गरेका छन् ।’

‘महिलाहरु मानसिक रुपमा सक्षम भएपनि शारीरिक रुपमा कमजोर रहेकाले आरोहणका क्रममा विभिन्न खालका समस्याहरु झेल्नु परेको छ। आरोहणको समयमा महिनावारी हुँदा आरोहणमा निक्कै समस्या हुने गरेको छ’, अध्यक्ष शेर्पाले भन्नुभयो ।

आर्थिक अभाव, हिमालसम्बन्धी ज्ञानको अभाव, आवश्यक सामाग्रीबारे जानकारीको अभाव, सचेतना, तालिमको कमी, समाजको हेर्ने दृष्टिकोण जस्ता कुराले महिलाहरुलाई समस्या हुने गरेको आरोही डोमा शेर्पाले बताउनुभयो । ‘हिमाल आरहोण गर्न चाहनेले हिमालबारे पढ्न र बुझ्न सकौं’, शेर्पाले भन्नुभयो ।

आरोही भूमिरा गुरुङले हिमाललाई जितेर पनि समाजलाई जित्न अझै नसकेको बताउनुभयो । ‘हिमाल आरोहणमा जाँदा पुरुषसँग नाम जोडेर आलोचना हुने गरेको छ । त्यसको आलोचना परिवारसम्मै हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘सगरमाथा चढेर फर्कदा खुसी हुनुभन्दा पनि दुखी हुनुपर्ने अवस्था छ ।’

नेपाल पर्वतारोहण संघ (एनएमए) र सगरमाथा आरोही संघले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आरोही महिलाहरुले आरोहणका क्रममा आफूले भोगेका समस्याहरु राख्नुभएको हो । कार्यक्रममा दुई दर्जभन्दा बढी आरोही महिलाहरु सहभागी हुनुभएको थियो । अहिलेसम्म ४९ महिलाहरुले विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेको तथ्याङ्क छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार