कोरोनालाई जितेर सगरमाथा आरोहण

कोरोना भाइरस (कोभिड १९) संक्रमण घातक बन्दै गइरहेको छ । संक्रमणबाट ज्यानै गुमाउनेहरुको संख्या बढ्दै छ । निको हुनेहरुमा पनि गम्भिर खालका स्वास्थ्य समस्या देखिएका छन् ।

जाङ्बु शेर्पा भने यस्ता फरक व्यक्ती रहे, जसले कोरोना संक्रमण जितेर विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । संक्रमण जितेर सगरमाथा आरोहण जस्तो कठिन काम गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नुभएको छ ।

उहाँ बहराइनका राजकुमार मोहम्मेद हमाद मोहम्मेद अल खालिफाको टोली लिएर सगरमाथा आरोहणमा जाँदै थिए । राजकुमारको टोलीलाई आधार शिविर पुराएर आरोहण अघिको अभ्यास गराउँदै हुनुहुन्थ्यो । उहाँ र उहाँको टोलीले राजपरिवारका सदस्यहरुलाई दैनिक खुम्बू आइसफलमा अभ्यास गराउँदै फर्काउने गर्दै थियो । त्यही क्रममा उहाँलाई असहज महसुस् भयो । केही दिन औषधि खाएरै बसे । शरीर अझ गल्दै गएपछि टोलीलाई त्यही छाडेर उहाँ काठमाडौं फर्किनुभयो ।

काठमाडौं आएर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । ६ दिन अस्पताल बसेर संक्रमण जितेपछि उहाँ थप ६ दिन घरमा आइसोलेसनमा बसेर फेरि बेस क्याम्प फर्किनुभयो र राजकुमारको टोलीलाई बेस क्याम्पबाट लिएर आरोहणतर्फ लाग्नुभयो । गत ११ मेमा बहराइनको राजकुमारको टोलीलाई सगरमाथाको चुचुरोमा पुराएर फर्किनुभयो ।

विश्वको सर्वाेञ्च शिखरमा १७औं पटक पाइला राखेका जाङ्बुका लागि यो आरोहण भने फरक रह्यो । उहाँ संक्रमण पुष्टि भएको दुई सातामै सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सम्भवत संक्रमण जितेर सगरमाथाको सफल आरोहण गर्ने उहाँ नै पहिलो व्यक्ती हुन् ।

परिवारको साथ र सहयोगले चाढै कोरोनालाई जित्न सफल भएको बताउने उहाँ यो संकटलाई जित्न सबैले एक अर्कालाई सहयोग गर्नुपर्ने बताउँनुहुन्छ । ‘कोरोना भाइरससँग अहिले विश्व नै संघर्ष गरिरहेको छ । मेरो हकमा भन्नुपर्दा चाढै राम्रो उपचार पाएँ’, उहाँ भन्नुहुन्छ, ‘त्यो भन्दा महत्वपूर्ण कुरा आफ्नो परिवारको सदस्यहरुको साथ र सहयोग महत्वपूर्ण हुने रहेछ । यो संकटलाई पराजित गर्न सबैले एकअर्कालाई सहयोग गर्न आवश्यक छ ।’ कोरोनालाई जितेर सगरमाथाको सफल आरोहण गरेका जाङ्बुको कथा उहाँकै शव्दमा,

बहराइनको राजपरिवारको टोलीलाई लिएर सगरमाथा आरोहणका लागि चार अप्रिलमा काठमाडौंबाट हिडेका थियौं । पहिलो दिन लुक्ला बस्यौं । त्यसको भोली पल्ट नाम्चे हुँदै हामी आठ अप्रिलमा आधार शिविर पुग्यौं । आधार शिविरमा पूजा ग¥यौं । अनि आरोहणअघिको अभ्यास थाल्यौं । बहराइनको टोलीलाई दैनिक खुम्बू आइसफलमा अभ्यास गराएर फर्काउने गर्दै थियौं । मलाई एक्कासी असहज महसुस् भयो ।

छाती दुख्ने । खान मन नपर्ने । राती निन्द्रा नलाग्ने । थकाई महसुस् हुने भयो । टोलीमा हामीसँग पनि डक्टर थिए । केही दिन उनीहरुले दिएको औषधि खाएर बसे । औषधि खादाँसम्म ठीक भयो । तर, निको भएन । एक दिन रिंगटा लागेर ढल्छु जस्तै भयो । धेरै मुस्किल भएपछि टिम लिडर (टासी लाक्ला शेर्पा) लाई भने । उहाँले त्यसको भोलीपल्ट हेलिकप्टर मगाईदिनुभयो ।

भोली पल्ट तीन बजे काठमाडौं आइपुग्यो । एयरपोर्टबाट सिधै सोह्रखुट्टेस्थित इरा अस्पताल पुगेँ । सबै परीक्षण भयो । छातीमा संक्रमण देखियो । डक्टरको सल्लाहअनुसार त्यही भर्ना भएँ । साँझतिर अस्पतालले कोरोना संक्रमण देखिएको खबर सुनायो । मैले मेरो टोली आधार शिविरमै छ, म जानुपर्छ भने । तर, अस्पतालले १५ दिन त्यही बस्नुपर्छ भन्यो ।

त्यसको ६ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यो दिन साँझ पाँच बजेतिर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए । डक्टरले रिपोर्ट नेगेटिभ आएपछि पनि आरोहणमा जान हुन्न भन्नुभएको थियो । त्यसैले घर फर्किएर पनि थप ६ दिन आइसोलेसनमै बसेँ ।

त्यसपछि भने आरोहणमा जान्छु भन्ने निर्णय गरेँ । टोलीलाई सम्पर्क गरेँ । दुई मेमा काठमाडौंबाट लुक्ला पुगेँ । भोली पल्ट हेलिकप्टरमार्फत आधार शिविर पुगेँ । आधार शीविर त पुगे, तर फेरि छाति दुःखे जस्तो भयो । समस्या होला कि जस्तो महसुस् भयो ।

आधार शिविर पुगेको तीन दिनसम्म अर्थात् ६ मेसम्म त्यही आराम गरेर बसेँ । त्यसपछि भने केही सहज महसुस् भयो । हामी ७ मेमा आधार शिविरबाट क्याम्प टू पुग्यौं । एक दिन हामी त्यही आराम गरेर बस्यौं । ९ मेमा क्याम्प थ्री पुग्यौं । त्यही बेलुका पाँच बजेतिर क्याम्प फोर पुग्यौं । केही समय खाजा खाएर अगाडिको आरोहण सुरु भयो ।

आगाडि बड्दै गएपछि केही मुस्किल भएको महसुस् भयो । मलाई कोरोना संक्रमण हुँदा सास फेर्न मुस्किल भएको थियो । त्यसैले फेरि त्यस्तै समस्या भयो कि भन्ने डर लाग्यो । अलि अगाडि पुगेपछि थाहा भयो मेरो अक्सिजनको मास्क बिग्रिएको रहेछ ।

अगाडि बाल्कुनी भन्ने ठाउँ आउँछ, जहाँ अक्सिजनकोको सिलिन्डर फेर्न वा त्यससम्बन्धी काम गर्न मिल्छ । त्यहाँ पुगेर मास्क मिलाउने प्रयास गरेँ । निक्कै गाह्रो भयो । त्यहाँ अरु उपाय थिएन । हामीसँग अतिरिक्त मास्क थिएन । त्यसैले फर्किनुपर्छ कि जस्तो भएको थियो ।

जसो तसो मिलाएँ । त्यसपछि टिमलाई लिएर अघि बढेँ । हामी ११ मेको बिहान ६ बजेर पाँच मिनेटमा सगरमाथाको चुचुरोमा पुग्न सफल भयौं । त्यसपछि फर्किएर क्याम्प फोरमा झ¥यौं । त्यहाँ केही समय आराम गरेर त्यही दिन क्याम्प थ्रीमा आएर बस्यौं । १२ तारिक आधार शिविर पुगेर बस्यौं । आधार शीविरबाट हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौं फर्कियौं ।

यसरी आरोहण सफल भयो । धेरै पटक सकिन्न जस्तो भएको थियो । शारीरिक रुपमै धेरै मुस्किल भइरहेको थियो । धेरै थकान महसुस् भएको थियो । टोलीलाई त्यो कुरा भन्न पनि मिलेन । उनीहरु विश्वास गरेर आएका हुन्छन् । उनीहरुको विश्वासलाई तोड्न पनि भएन । यो आरोहण मेरा लागि मत्वपूर्ण पनि थियो । आरोहण टोलीमा बहराइनको राजपरिवारका सदस्यहरु थिए । साथै, सगरमाथाको उचाई बढेपछिको पनि पहिलो आरोहण थियो ।

त्यसले गर्दा पनि आरोहण छाड्न मन लागेन । काठमाडौं आएर पनि फर्किएर टिमलाई भेट्न पुगे । त्यो निर्णय सही भयो जस्तो लाग्छ । कोरोना संक्रमण भएपछि पनि आरोहण गर्न सकिदो रहेछ भन्ने महसुस् भयो । अहिले संक्रमण बढ्दै गएको अवस्थामा आफ्नो ख्याल गर्नुपर्ने अवस्था छ । सबैलाई यही अनुरोध गर्दछु कि सबैले सबैलाई सहयोग गरौं । यो संकटलाई जित्न परिवारको सहयोग अझ महत्वपूर्ण हुने रहेछ । अस्ततालमा उपचार गर्दा होस् वा घरमै आइसोलेसनमा बस्दा, सम्भव रहेको माध्यमबाट परिवारको साथमा रहौं । भर्चुअल्ली भए पनि आफ्ना आफन्तहरुसँग कुराकानी गरिरह्यौं भने आत्मबल बढ्ने गर्दछ । उच्च आत्मबलले यो संकटलाई जित्न सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार