बेलायती सेनाबाट अवकाशप्राप्त श्रीप्रसाद गुरुङ जीवनको दोस्रो ‘इनिङ’मा हुनुहुन्छ । जीवनको यो समय बेलायतमै रहेर आरामसाथ विताउँने अवसर उहाँसँग छ । अवकाशप्राप्त गोर्खा सैनिकहरूलाई बेलायतले आवासीय सुविधा दिने गरेको छ ।
तर, स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने सोच राख्नुहुने श्रीप्रसाद ती सबै सुविधा त्यागेर आफ्नै देश फर्कनु भयो । यो क्रममा उहाँ होटल व्यवसायमा संलग्न हुनुभएको छ । यो अवधिमा उहाँको अर्काे सुरुवात भनेको समाज सेवा हो ।
उहाँ भर्खरै सेवा क्षेत्रको महत्वपूर्ण संस्था रोटरी क्लब अफ हिमालयन गोर्खाजको अध्यक्ष बन्नुभएको छ । यो जिम्मेवारीले सेवा क्षेत्रमा अझ अघि बढ्न प्रेरणा मिलेको उहाँ बताउँनुहुन्छ । ‘रोटरी क्लब विशुद्ध समाज सेवाका निमित्त बनेको संस्था हो । पछिल्लो लामो समयदेखि रोटरीको यही अभियानमा सहभागी भएको छुँ’, श्री भन्नुहुन्छ, ‘यसले समाज सेवाको महत्व बुझ्ने मौका पाएको छु । समाज सेवा गर्दा प्राप्त हुने आनन्दको महसुस् गर्न पाएको छु ।’
रोटरी क्लब मनकारी व्यक्तिहरूको त्यो संस्था हो, जसले स्वदेशीमै र विदेशबाट पनि आर्थिक सहयोग जुटाएर विभिन्न क्षेत्रको विकास कार्यमा सहयोग पु¥याउने गरेको छ ।
रोटरी क्लब अफ हिमालन गोर्खाजको अध्यक्ष बन्नुभएपछि श्रीप्रसादको अर्काे अभियान पनि सुरु भएको छ । सरकारले अहिले भिजिट नेपाल २०२० को नारासहित नेपाल पर्यटन वर्ष मनाइरहेको छ । ठूला विदेशी लगानीकर्तासँग नियमित पत्राचार हुने रोटरी क्लबको ‘लेटर हेड’ मै भिजिट २०२० को नारा राखेर विदेशी पाहुनालाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने अभियान उहाँले सुरु गर्नुभएको छ । त्यसो त विदेशमा हुने रोटरीका कार्यक्रमहरुमा एक छेउमा भिजिट नेपालको ब्यानर राख्ने गरेको श्री ले बताउनुभयो ।
‘नेपाल भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसमा हामीले पनि सहयोग गरौं भन्ने उदेश्यले हामीले लेटरहेडमै भिजिट नेपाल २०२० को नारालाई राखेर पत्राचार गर्ने गरेका छौं’, श्रीप्रसाद भन्नुहुन्छ, ‘विदेशको बैठकहरूमा पनि हामी यो कुरालाई उठाउँने गरेका छौं ।’
उहाँ सबैले सहयोग गरे मात्रै धेरैभन्दा धेरै पर्यटक भित्राउने सरकारको अभियान पूरा हुने बताउँनु हुनछ ।
उहाँ पर्यटन क्षेत्रसँग सम्बन्धित होटल व्यवसायमा हुनुहुन्छ । उहाँले ‘चिल आउट होलिडे’ नामक होटल सञ्चालनमा ल्याउँनुभएको छ । उहाँ गोर्खा अर्गानिक मार्फ तथा अनुसन्धान केन्द्रको स्थापना गरी कृषि क्षेत्रमा पनि संलग्न हुनुभएको छ ।
त्यसबाहेक उहाँले रोटरी क्लबमार्फत नेपाली कला संस्कृति र अन्य देशको कलासंस्कृतिबारे जानकारी आदानप्रदान गर्ने ‘कल्चरल एक्सचेन्ज’ कार्यक्रममा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । त्यस क्रममा स्याङ्जा सिरुबारीका २० जना विद्यार्थी, काठमाडौंको भ्याली पब्लिक सेकेन्डरी स्कुलबाट २० जना विद्यार्थी र १० जना शिक्षकलाई लिएर कल्चरल एक्सचेज कार्यक्रममा सहभागी हुन बेलायत पुग्नुभएको थियो ।
साथै बेलायतबाट आएका बिद्यार्थीहरूलाई नेपालभित्रै पनि विभिन्न स्थानको भ्रमण गराउँने काममा उहाँ सक्रीय हुनुहुन्छ ।
सन् २००१ मा बेलायती सेनाबाट सेवा निबृत्त भएपछि स्वदेश फर्कनु भएका उहाँ स्वदेशकै केही गर्नुपर्छ भन्ने नयाँ सोंचका साथ विभिन्न क्षेत्रमा संलग्न हुँदै आइरहनु भएको छ । स्याङ्जा वालिङका श्रीप्रसादसँग यही कारणले जीवनको आफ्नो दोस्रो पारीमा पनि सफल देखिनुभएको छ ।