जीटिनको पाँचौं अधिवेशन यसै साता

काठमाडौं । देशै भरका गुरुङ पर्यटन व्यवसायीहरुको साझा संस्था गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन)को १४औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन यसै साता काठमाडौंमा हुने तय भएको छ । सो अवसरमा जीटीनले ‘पर्यटनमा गुरुङ’ नामक स्मारिका समेत प्रकाशन गर्दै छ ।

संस्थाले आफ्नो १४औं वार्षिक साधारसभा तथा पाँचौं अधिवेशन यही माघको २९ गते आयोजना गर्न लागेको जनाएको छ । संस्थाले वार्षिक साधारण सभा र अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष पिताम्बर गुरुङले जानकारी दिनुभएको छ ।

संस्थाले नेपाली पर्यटन क्षेत्रका विविध विषय, व्यक्तित्व र विचारलाई समेटी स्मारिका प्रकाशन गर्न लागेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘नेपाली पर्यटन क्षेत्रका विविध विषय, यस क्षेत्रका अग्रज तथा अनुभवी व्यक्तित्वहरुको अनुभव र विचारलाई समेटी स्मारिका प्रकाशनको तयारी गरिएको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘स्मारिकाले हाम्रो साधारण सभा र अधिवेशनलाई विशेष बनाउने अपेक्षा गरेका छौं ।’

जीटीनले स्मारिकामार्फत आफूले अन्वेशण र प्रवद्र्धन गरिरहेको गुरुङ सम्पदा मार्गको प्रवद्र्धन, प्रचार र दस्तावेजीकरण गर्ने कामलाई जोड दिएको छ । जीटीनले आफ्नो गण्डकी कार्यसमितिको अग्रसर्तामा यस सम्पदा मार्गको अन्वेशन गरेको हो । स्मारिकामा पर्वतीय पर्यटन, पदयात्रा पर्यटन, होमस्टे, जलपर्यटन लगायत नेपाली पर्यटन क्षेत्रका विविध क्षेत्र र तीनमा देखिएका चुनौती, अवसरलाई समेटिएको छ । जीटीनले महासचिव जय गुरुङको संयोजनमा समिती गठन गरी स्मारिका प्रकाशनको कामलाई अघि बढाएको हो ।

कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न जीटीन र जीटिन गण्डकी वितग दुइ महिनादेखि निरन्तर तयारीमा लागेको उपाध्यक्ष बाबुराम गुरुङले बताउनुभयो ।

यस अधिवेशनमार्फत जीटीनको नयाँ कार्यसमिति चयन हुने छ । जीटीनको हालसम्म दुईसय बढि सदस्य रहेका छन् । कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न जीटीन गण्डकीले पनि उल्लेख्य भूमिका खेलिरहेको अध्यक्ष पिताम्बर गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार