एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १९७९ मा विवाहित पहिलो दम्पतीको रुपमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

उहाँहरु सगरमाथाको आरोहण गर्ने युगोस्लाभियाको पहिलो टोलीसमेत हुनुहुन्छ। सोही आरोहणको ४० वर्ष पुगेको अवसरमा एनएमएले एस्ट्रेम्फेल दम्पतीलाई सम्मान गरेको हो । एस्ट्रेम्फेल दम्पतीलाई खाने पानी तथा सरसफाइ मन्त्री बिना मगरले सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मान ग्रहणपछि एन्द्रेले खुसी व्यक्त गर्नुभयो । नेपाललाई आफ्नो दोस्रो घर मान्ने उहाँले एनएमएको सम्मानबाट आफूहरुलाई थप खुसी मिलेको प्रतिकृया दिनुभयो ।

‘नेपाल मलाई आफ्नै घर जस्तै लाग्छ । त्यसैले नेपालको धेरै मायाँ लाग्छ’, एन्द्रेले भन्नुभयो, ‘हाम्रो त्यो आरोहणमा नेपाली दाजुभाईहरुले पनि धेरै सहयोग गर्नुभएको थियो । आज तपाइहरुले मलाई सम्झिएर सम्मान गर्नुभएको छ । धेरै खुसी लागेको छ ।’

एन्द्रेले सगरमाथाको सफल आरोहणपछि नेपालको हिमाल आरोहणको क्षेत्रमा विभिन्न सहयोग गर्दै आउनुभएको छ। उहाँकै सहयोगमा मनाङमा पर्वतीय पथ प्रदर्शकहरुका लागि प्रशिक्षणका लागि भवन निर्माण भएको छ । उहाँले नेपाली प्रदर्शकहरुका लागि निरन्तर रुपमा सहयोग गर्दै आइरहनुभएको छ ।

मन्त्री मगरले सगरमाथा आरोहणमा फरक कीर्तिमान कायम गर्न सफल जोडीलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिकृया दिनुभयो । ‘म आझै पनि सगरमाथा आरोही हँु । त्यसैले विश्वका सवै आरोहीलाई आफ्नै परिवारको सदस्य जस्तै लाग्छ’, मन्त्रि मगरले भन्नुभयो, ‘उहाँहरुले विवाहित दम्पतीको रुपमा सगरमाथाको सफल आरोहण गर्नुहुँदा म जन्मिएको पनि थिइन । आज उहाँहरुलाई सम्मान गर्न पाउँदा निक्कै खुसी लागेको छ ।’

कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबीर लामा, महासचिव कुलबहादुर गुरुङ, पर्यटन विभागका प्रवन्ध निर्देशक डण्डुराज घिमिरे, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदी लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार