‘साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान’

कोभिड १९ महामारी र लकडाउनले बेरोजगार बनेका पर्वतीय गाइडदेखि सहयोगी सबै काममा फर्कने अवसर

काठमाडौं । कोभिड १९ महामारी र त्यससँगै सुरु भएको लकडाउनले नेपाली पर्यटन क्षेत्र मुख्य ‘सिजन’मै सुनसान बन्यो । यसको असरले नेपाली पर्यटन क्षेत्रका पर्वतीय पथप्रदर्शकदेखि सहयोगीसम्म बेरोजगार बने ।

अर्काे महिनाबाट भने उनीहरु सबै काममा फर्कन सक्ने सम्भावना देखिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा सरकाले साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान सुरु गर्ने तयारी गरेको छ । यस सम्बन्धमा अन्तिम तयारी भइरहेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

‘कोभिड १९ महामारीका कारण बेरोजगार बन्नु परेका पर्वतारोही, पथप्रदर्शकदेखि सहयोगीहरुलाई सुरक्षित गर्ने र जीवन निर्वाहका लागि वैकल्पिक मार्गतिर जानबाट रोक्ने उदेश्यले पनि हामी उहाँहरुलाई चाडोभन्दा चाडो कसरी काममा फर्काउन सक्छौ भन्ने प्रयासमा छौं’, एनएमएका अध्यक्ष सन्तवीर लामा भन्नुहुन्छ, ‘यसका लागि साउन दोस्रो साताबाटै हिमाल सरसफाइदेखि अन्य अभियानको थालनी गर्ने प्रयासमा छौं । यस सम्बन्धमा तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले चाडै नै घोषणा गर्ने छ ।’ शुरुवात साना हिमालबाट गर्ने र त्यसपछि ठूला हिमाल सफा गर्ने योजना गरेको पनि उहाँले बताउनुभयो ।

तयारी अनुसार हिमाल सफाइदेखि आरोहण तथा उच्च पासेजहरु र अफ्ठ्यारा बाटाहरुमा सुरक्षित पदयात्रा तथा आरोहण मार्गको लागि आवश्यक चेन एङ्कर फिक्सिङ, साइनेज जडान, नयाँ पोर्टर सेल्टरको निर्माण, पुराना सेल्टरको पुनर्निर्माण लगायत काम हुने छन् । यी कामका लागि अन्तर्राष्ट्रिय पथ प्रदर्शकदेखि संघसँग आबद्द उच्च हिमाली भेगमा कामगर्ने बुक होल्डर, पर्वतीय पथप्रदर्शक, तालिमा प्राप्त गाइड र अन्य सहयोगीलगायत यस क्षेत्रमा संलग्न सबै कामदार संलग्न हुने छन् ।

पर्यटन बिभागको संयोजकत्वमा गरिने यी काममा बन तथा वातावरण मन्त्रालयदेखि स्थानीय निकाय संलग्न हुने छन् । यसका लागि आवश्यक बजेटको ब्यवस्थासमेत भइसकेको छ ।

पहिलो चरणमा दुई सयदेखि तीन सय जनालाई क्षेत्र छुट्याएर परिचालन गर्ने योजना रहेको संघका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो । ‘प्रायः हिमाली क्षेत्रमै रमाउने हाम्रा आरोही र सहयोगी साथीहरु कोभिड १९ महामारीका कारण लामो समय कस्टकर दैनिकीमा बस्नु बाध्य हुनुभएको छ’, महासचिव गुरुङ भन्नुहुन्छ, ‘यो अभियानबाट उहाँहरु आफ्नो काममा मात्रै फर्कनु हुने छैन, आन्दानी त हुने नै छ । राज्यलाई पर्वतीय पर्यटनमा टेवा पु¥याउने अवसरसमेत मिल्ने छ ।’

हिमाल सफाइ कार्यक्रम पर्यटन मजदूरका लागि राहत सरह हुने महासचिव गुरुङले बताउनुभयो । ‘अहिले राज्यले कोभिड १९ महामारीबाट समस्यमा परेका पर्यटन मजदूरलाई उचित राहत पु¥याउन सकिरहेको छैन । हिमाल सफाइ कार्यक्रम क्यास फर वर्कको अवधारणामा हुने छ । यसबाट काम पनि हुने छ, त्यसमा संलग्नहरुका लागि आम्दानी पनि हुने छ’, उहाँ भन्नुहुन्छ, ‘यसका साथै हामी यही अभियानबाट हिमाल र वातावरण संरक्षणबारे जनचेतना जगाउने र विश्वमा नेपाल पर्वतीय पर्यटनका लागि तयार छ भन्ने सन्देश दिन पनि चाहन्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार