‘काम देउ सरकार’

कोभिड १९ महामारीले नेपाली पर्यटन क्षेत्र पछिल्लो तीन महिनादेखि ठप्प छ । पर्यटकीय मौसममा नेपालको हिमाल र पर्यटकीय क्षेत्र चहारी हिड्नुपर्ने आरोही, पथ प्रदर्शक र सहयोगीहरु पछिल्लो तीन महिनादेखि आफ्नै घरमा थुनिएका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा संलग्न लाखौंको दैनिक जीवनमै ठूलो असर पारेको छ । भाइरस संक्रमणको अनियन्त्रित अवस्था र यसले आर्थिक क्षेत्रमा पारेको असरका कारण नेपाली पर्यटन क्षेत्र सुचारु हुन अझै लामो समय कुर्नुपर्ने देखिएको छ । पर्यटन क्षेत्रका विज्ञहरुकै अनुसार कम्तिमा यो वर्ष नेपाली पर्यटन क्षेत्र पुरानै लयमा फर्कने अपेक्षा गर्न सकिन्न । यो संकटको समयमा उनीहरु के चाहन्छन् त ? उनीहरुकै शब्दमा,

‘सुरक्षा विधि अपनाएर पर्यटन क्षेत्र सुचारु गर्नुपर्दछ’
पेम्बा शेर्पा
आरोही÷गाइड

पर्यटन क्षेत्र कहिले सुचारु होला, अझै टुङ्गो छैन । हाम्रो पेसा पसलको व्यापार जस्तो होइन । नखोल्दा पनि आफ्नो सामान रहिरहने । हामी पर्यटकसंगै सिधै जोडिएको छौं । पर्यटक नआए हाम्रो काम सुरु हुँदैन । तर, यो क्षेत्र कहिले खुल्ने भन्ने सरकारले अझै टुङ्गो लगाउन सकेको छैन । अरु व्यवसायमा लागौं भने पनि पर्यटन क्षेत्र खुलिहाल्ला कि भन्ने आशा पनि अझै छ । यससम्बन्धमा सरकारबाट कुनै निर्णय नआउँदा हामी निराश छौं । ‘डिप्रेसन’ मा पुग्ने अवस्था भइसकेको छ । कतिप आरोहीहरु खेतीपातीतर्फ लाग्ने सोंचमा छन् । राज्यले हामीले गर्दै आइरहेको पेसाको सुरक्षा दिन नसक्दा पनि यो अवस्था आएको हो । यसले आरोहीहरु पलायन हुने अवस्था आउँदैछ । यो महामारीले गालेका इटाली लगायत अन्य देशहरुले सुरक्षा विधि अपनाउँदै सबै क्षेत्र सञ्चालनमा ल्याउन थालेका छन् । नेपालमा पनि सरकारले त्यसै गर्न आवश्यक छ । त्यसबाट देशकै अर्थतन्त्रमा टेवा पु¥याउने पर्यटन क्षेत्र सुचारु मात्रै हुने थिएन, हामी जस्ता यही क्षेत्रमा निरर्भर रहेकाहरुले पनि केही आम्दानी गर्ने अवसर पाउने थिए ।

‘सरकार राहत हैन जीवन धान्ने काम देऊ’
दावा छिरिङ लामा
क्लाइम्बिङ÷ट्रेकिङ गाइड

चार÷पाँच महिना काम गरेर वर्ष दिन परिवार धान्नुपर्छ । यो वर्ष मुख्य पर्यटकीय सिजनमै कोभिड १९ को संकट बेहोर्नुप¥यो । पर्यटन क्षेत्र ठप्प हुँदा हाम्रो रोजिरोटी खोसिएको छ । यतिबेला परिवार कसरी धान्ने भन्ने चिन्ता छ । अब ढिलोचाँडो छोराछोरीको स्कुल पनि लाग्छ । बिहान बेलुका छाक टार्ने समस्या त छदै छ, उनीहरुको विद्यालय भर्ना कसरी गर्ने, आवश्यक शुल्क कसरी तिर्ने भन्ने समस्या पनि थपिएको छ । हामी ठूलो समस्यामा छौं । पर्यटन क्षेत्र पहिलेको अवस्थामा फर्कन कति समय लाग्ने हो, अझै निश्चित छैन । राज्यले हाम्रो बारेमा खासै ध्यान दिएको देखिएको छैन । हामीलाई पाँच केजी चामल हैन जीवन धान्ने काम देऊ, सरकार । हामी काम गर्न तयार छौं । म जस्ता पर्यटन क्षेत्रमा संलग्न हजारौं समस्यामा परेका छन् । यो अवस्थामा हामीलाई नयाँ रुटको खोजी गर्ने, साइनेस व्यवस्थापन गर्ने लगायत दक्षताका आधारमा फकर–फरक क्षेत्रमा काम दिए धेरैथोरै कमाइ पनि हुन्छ । पर्यटकीय गन्तव्यको व्यवस्थापन पनि हुन्छ । यो बेला राज्यले काम दियो भने हामी सुरक्षित तवरले काम गर्न सक्षम छौं ।

‘पर्यटन क्षेत्रका संघसंस्थाहरुले पनि सहयोग गर्न आवश्यक छ’
जय गुरुङ
युवा पर्यटन व्यवसायी÷ट्रेकिङ गाइड

कोभिड १९ ले सबै क्षेत्रलाई संकटमा पारेको छ । यसको असर पर्यटन क्षेत्रमा अझ बढी देखिएको छ ।
भाइरस संक्रमण त्रास र यो अवधिमा घोषित लकडाउनका कारण म र नेपाली पर्यटन क्षेत्रमा संलग्न रहेका लाखौको रोजिरोटी खोसिएको छ । पर्यटन क्षेत्र कहिलेबाट सुचारु होला, अझै त्यसको निश्चित छैन । यो अवस्थाले व्यवसायीदेखि सहयोगीसम्म निराश बनेको अवस्था छ । यो क्षेत्रमा भर्खरै प्रवेश गरेका नयाँ व्यवसायी वा अन्य पर्यटनकर्मीहरुलाई यो संकटले अझ मुस्किल बनाएको छ । लकडाउन खुकुलो हुँदै गर्दा अन्य क्षेत्र बिस्तारै खुल्दै गरेको देखिएको छ । तर, नेपाली पर्यटन क्षेत्र सहजै खुल्न सक्ने अवस्था छैन । तत्काल पर्यटक आउनसक्ने संभावना छैन । हामीप्रति सरकारले पनि कुनै चासो दिएको देखिएको छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्रका संघसंस्थाले हामीलाई यो क्षेत्रमा टिकाउन पहल गर्नुपर्छ । आधार शिबिर सफा गर्ने, हिमाल सफा गर्ने, नयाँ रुटहरुको प्रवद्र्धन गर्ने लगायतका काम सञ्चालन गर्न आवश्यक छ । यसबाट काम पनि हुने छ, यो क्षेत्रमा संलग्न रहेकाहरुले जीवन धान्ने आधार पनि पाउने छन् ।

पर्यटन क्षेत्र खुलाउनेतर्फ लाग्न आवश्यक छ’
नरेन्द्र शाही
इन्टरनेसनल माउन्टेन गाइड

अहिले निक्कै अन्योलग्रस्त अवस्था सिर्जना भएको छ । भाइरस संक्रमण त्रासका कारण बाहिर निस्कन सक्ने अवस्था छैन । पर्यटन क्षेत्र ठप्प छ । कुनै नयाँ योजना बनाएर अघि बढौ भन्दा पनि आट्न सक्नेअवस्था छैन । सिजनमै लकडाउन घोषणा भएपछि यो वर्ष कमाइ पनि शून्य भयो। सरकारले हामीलाई राहत होइन काम दिनुपर्छ । राहत कहिलेसम्म दिने ? राहत दिएर एक दुई महिना त धान्ला । त्यसपछि के गर्ने ? त्यसैले अब पर्यटन क्षेत्र कसरी सकिन्छ, खुलाउनतर्फ लाग्नु आवश्यक छ । रोजगारी सिर्जना गर्न सकिए मात्रै दीर्घकालिन राहत पुग्ने छ । सबै पर्यटन कर्मीलाई एकै पटक समेट्न नसके पनि विभिन्न चरणमा विभिन्न प्रकारको गतिविधिहरु गरी रोजगारी सिर्जना गर्न आवश्यक छ । पासेजहरुमा चेन एङ्कर फिक्सिङ गर्ने, तालिम दिने लगायतका कामहरु गर्न हामी तयार छौं । अहिले विदेशबाट पर्यटक आउने र हामीले काम पाइहाल्ने अवस्था छैन । त्यसैले यो समय गर्नै पर्ने अन्य कामतर्फ लाग्न आवश्यक छ । यो समस्यालाई सरकारले गम्भिर रुपमा मनन् गर्न आवश्यक छ । नत्र, हामी त पलायन हुने स्थिती आइसकेको छ, त्यसले नेपाली पर्यटन क्षेत्रमा पनी ठूलो असर पुग्ने छ ।

‘पलायन हुने अवस्था आएको छ’
प्रिन्सिला तामाङ
ट्रेकिङ गाइड

नेपाली पर्यटन क्षेत्र अहिले इतिहासकै खराब अवस्थाबाट गुज्रिरहेको छ । आरोही, पथ प्रदर्शकदेखि सहयोगीले काम पाएका छैनन् । व्यवसायीहरुले पनि कुनै प्याकेज बेच्न सक्ने अवस्था छैन । यो अवस्थामा हामीलाई आफ्नो दैनिकी नै कसरी चलाउने भन्ने समस्या पर्न थालेको छ । यो अवस्थामा सरकारले हामीलाई निश्चित क्षेत्रमा काम दिए राम्रो हुने थियो । सरकारले यो समय गर्न सक्ने र मिल्ने काम क्षमताका आधारमा दिए मात्रै पनि हामी जस्ता नेपाली पर्यटन क्षेत्रमा संलग्न रहेकाहरुले जीवन धान्ने आधार पाउने थिए । तर, अहिलेको समस्या भनेको हाम्रो कुरा कसैले सुन्दैन । म जस्तो सामान्य पर्यटनकर्मीको कुरा कस्ले सुनिदिने? सरकारले केही गरिदेला भन्ने आशासमेत मर्न थालेको छ । आफ्नो इच्छाले यो क्षेत्र रोजेकी हुँ । अहिले जीवन धान्नै मुस्किल हुने स्थितीले गर्दा अन्य क्षेत्रनै रोज्नुपर्छ कि भन्ने महसुस भइरहेको छ । सम्बन्धित निकायबाट कुनै भरपर्दाे र ब्यवसाय सुरक्षित हुने कार्यक्रम नल्याए, यो क्षेत्रबाट पलायन हुनुको बिकल्प पनि हुने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार