काठमाडौं । सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलो मानव पाइला टेक्न सफल भएसंगै यी हिमालको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जुगल हिमश्रृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकको पहिलो पटक सफल आरोहण गरेको टोलीले हिमाल प्रवद्र्धनमा जोड दिएका हुन् ।
आरोहण दलको नेतृत्व गरेकी मायाँ गुरुङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकलाई आकर्षित गर्न जुगल हिमाल एउटा नयाँ र महत्वपूर्ण गन्तब्य बन्ने बताउनुभयो । ‘सिन्धुपाल्चोकको पर्यटकीय गन्तब्य जुगलको ग्याल्जेन पिकको सफल आरोहणले नेपाल भ्रमण वर्ष २०२० लाई योगदान पुगेको छ’, उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोक काठमाडौंबाट नजिक र धेरै हिमाल भएको जिल्ला भएपनि त्यस क्षेत्रमा पर्यटन क्षेत्रको उपस्थिती पुग्न नसकिरहेको अवस्था छ ।’
काठमाडौंबाट एकसय १६ किलोमिटरको दूरीमा रहेको जुगल हिमाल आसपासमा थुप्रै नाम राखिएका र नराखिएका पिकहरु छन् । जसको आरोहण गर्न सकिने संभावनाका रहेको आरोहण दलका अर्का सदस्य मिलन तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयमा जनचेतना जगाउन आवश्यक छ । जुगल हिमालको बाटो निर्माण गर्न सके पर्यटकलाई बेसक्याम्पसम्म लैजान सकिन्छ । तर, बाटो एकदमै अप्ठेरो छ । बेसक्याम्प जाने दुईवटा बाटो निर्माण गर्न आवश्यक छ ।’
सिन्धुपर्यटन परिषदको आयोजना तथा टे«किङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को सहयोगमा आयोजित पत्रकार भेटघाटमा सिन्धुपाल्चोक प्रदेश २ का सांसद निमानोर्बु लामाले प्रदेश ३ को पर्यटकीय क्षेत्रको पहिचान, पर्यटन प्रवद्र्धन र हिमाल आरोहणको क्षेत्रलाई प्राथमिकताका साथ हेरिएको बताउनुभयो । जुगल हिमालमा पर्यटन प्रवद्र्धनका लागि टान लगायत संस्थालाई उहाँले आग्रह गर्नुभयो ।
काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल र लाङटाङ हिमश्रृङ्खलामा मात्र ६ हजारमीटर देखि ६७९९ मीटर उचाईका २६ वटा हिमाल रहेका छन् । जुगल हिमश्रृङ्खलामामात्र आरोहणका लागि खुला गरिएका र नगरिएका ११ वटा हिमालहरु रहेका छन् । नेपालमा पर्यटनको अथाह संभावना भएपनि त्यसको उपयोग गर्न नसकिरहेको उल्लेख गर्दै यो आरोहणले भ्रमण वर्षका अवसरमा ठूलो महत्व राख्ने टानका अध्यक्ष नवराज दाहालले बताउनुभयो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले सगरमाथा बाहेक अन्य हिमालमा पनि पर्यटकलाई विकेन्द्रित गर्न जुगल हिमाल एउटा विकल्प भएको बताउनुभयो ।
सगरमाथाको सफल आरोहण गरिसक्नुभएका माया गुरुङ नेतृत्वको आरोहण दलले २०७५ चैत २६ गते विहान ११ बजेर ३० मिनेटमा जुगल हिमश्रृङ्खलाको ६१५१ मीटर अग्लो ग्याल्जेन पिकको सफल आरोहण गरेका थिए । आरोहण दललाई काठमाडौंबाट पिक आरोहण गरी काठमाडौंमै आईपुग्न १२ दिन समय लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ग्याल्जेन पिकको सफल आरोहणले जुगल हिमश्रृङ्खला एक महत्वपूर्ण पिक हुनेमा आफुहरु विश्वस्त रहेको सिन्धु पर्यटन परिषदको विज्ञप्तिमा उल्लेख गरिएको छ । ग्याल्जेन पिक आरोहणमा ५४ लाख रुपैंया खर्च भएको पनि सिन्धुपर्यटन परिषदले जनाएको छ ।
जुगल हिमाल आरोहण दलमा टिम लिडर माया गुरुङका साथमा सफल आरोही मिलन तामाङ, शर्मिला थापा, गाईडहरु तुलसिं गुरुङ (प्रमुख), नरबहादुर अस्तानी, आशबहादुर गुरुङ, समिर गुरुङ, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी थिए ।